पि.एन. क्याम्पसमा आज मतदान नहुने, भोलि विहान ८ बजेदेखि मतदानको समय तोकियो


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०८१ मा प्रकाशित




पोखरा, चैत ५

देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस पोखरामा आज मतदान नहुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अन्तर्गत मंगलबार मतदानको समय तोकिएपनि मतपत्रमा देखिएको त्रुटीका कारण स्थगित भएको छ । स्थगित मतदान भोलि बुधबार विहान ८ बजेदेखि शुरु हुने पिएन क्याम्पसका निर्वाचन अधिकृत प्रा.डा.रामचन्द्र पोखरेलले जनाएका हुन् ।

मतपत्रमा अखिल छैठौंको रेजा लगाउने बक्स छुटेपछि मंगलबारका लागि तय भएको मतदान स्थगित भएको सूचनामा उल्लेख छ । मतपत्र छाप्न ढिलाईहुँदा मतदानमा ढिलाई भएका कारण मतदानको समय बुधबारका लागि सारिएको जनाइएको छ । सूचनामा निर्वाचन अधिकृत प्रा.डा.पोखरेलले प्रत्यक्षतर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल छैटौंको अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोप्रति गम्भीर आत्मआलोचना गरेका छन् ।

यसअघि स्ववियुको पदाधिकारी चयन गर्न मतदान हुने आशामा विहान ८ बजेदेखि नै विद्यार्थीहरु क्याम्पस गेट बगर पुगेका थिए । जहाँ विद्यार्थीहरुको पर्खाई अधैर्य देखिन्थ्यो । मतपत्रमा त्रुटी देखिएपछि मंगलबार मतदान हुने÷नहुने अन्यौल देखिएपछि विद्यार्थीले पटक÷पटक मतदान शुरु गर्न दवाब दिएका थिए । प्रशासनको कमजोरीमा खेलेर केहि विद्यार्थी संगठनले चुनाव बिथोल्न खोजेको भन्दै कहिले अनेरास्ववियु त कहिले नेविसंघ अनि कहिले अखिल क्रान्तिकारीले नाराबाजी र विरोध प्रदर्शन गरिरहे । जसले गर्दा पीएन क्याम्पसको मुख्य गेट अगाडिको क्षेत्र दिनभर तनावग्रस्त बन्यो । यस बिचमा पटक÷पटक प्रहरी र विद्यार्थीबीच झडपसमेत भएको थियो ।

पीएन क्याम्पसमा स्ववियु सभापतीका लागि ८ जनाको उम्मेदवारी परेको छ । सभापतीमा एमालेनिकट अनेरास्वियुबाट विष्णु पोखरेल, कांग्रेसनिकट नेविसंघबाट सुशिल न्यौपाने र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट नविन अधिकारीले उम्मेदवारी दिएका छन् । सभापतीमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू, अखिल समाजवादी विप्लव, र अखिल क्रान्तिकारी बहुमतको संयुक्त मोर्चाबाट सन्तोष पौडेल, अखिल छैठौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिएका छन् । पीएन क्याम्पसको सभापतीका लागि विप्लबी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पीएन क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । अनेरास्ववियुले सँधै जित्दै आएको पीएन क्याम्पसमा विसं. २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । त्यसैले अनेरास्ववियुलाई आफ्नो विरासत जोगाउन चुनौति छ । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको र त्यसले विद्यार्थीमापनि फरक पर्ने भएकाले यस पटकको स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विरासत जोगाउन हम्मेहम्मे हुने विश्लेषण गरिएको छ । यहाँ नेविसंघले जनमत बढाएकाले मतपरिणाम आफ्नो पक्षमा आउने उसको दाबी छ । अन्य संगठनले भने आफ्नो मत सुरक्षित गर्नेतर्फ ध्यान दिएको बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।