माओवादी माछापुच्छ्रे गा.पा.अध्यक्ष पोखरेलपनि गुटको खेतीमा !


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०८१ मा प्रकाशित




पोखरा, चैत ९

पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष गोपाल पोखरेलले दोधारे नीति लिँदा विवादमा फसेका छन् । पार्टी नेतृत्वमा रहेका उनले स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको संस्थापन र विद्रोही दुबै पक्षका उम्मेदवारको प्रचार गर्दै दोधारेपन देखाएको भन्दै उनको आलोचना भएको हो ।

पीएन क्याम्पसमा अखिल क्रान्तिकारीको संस्थापन पक्षले नवीन अधिकारीको नेतृत्वमा एकल प्यानल बनाएको छ । जसलाई नेकपा माओवादी केन्द्र कास्कीले आधिकारिक उम्मेदवार भएको बताएको छ ।

तर कास्कीमा समानान्तर गतिविधि गरिरहेको दीपक कोईराला समूहले त्यहाँ नेकपा एस निकट अनेरास्ववियू र विप्लव माओवादी निकट अनेरास्ववियु समाजवादीसँग मिलेर संयुक्त प्यानल बनाएको छ । सो प्यानलमा संलग्नहरुलाई माओवादीले कारवाही गरिसकेको छ ।

यस्तो अवस्थामा अध्यक्ष पोखरेलले विवेकपूर्ण निर्णय गरेर पार्टी निर्णयको पक्षमा उभिनुपर्नेमा ढुलमुले नीति लिएर दुबै पक्षको साखुल्ले हुन खोज्दा झन् विवादमा फसेको सो पार्टीका नेताहरु बताउँछन् । उनले संस्थापन र कारवाहीमा परेका दुबै पक्षका उम्मेदवारहरुलाई भोलि आईतबार हुने पीएन क्याम्पसको स्ववियु चुनावका लागि भोट मागेर अराजकता प्रदर्शन गरेका उनीहरुको आरोप छ ।

पोखरेलले आफूले दुबैतर्फको उम्मेदवारलाई भोट मागेर रमाइलो गरेको गैरजिम्मेवार प्रतिक्रिया दिएका छन् । एभरेस्ट आवाजसँग कुरा गर्दै उनले भने,‘हो मैले रमाइलो गरिरहेको छु । यसमा मलाई रमाइलो भइरहेको छ ।’

कोइराला समूहका पोखरेल गत वर्षमात्र संस्थापन पक्ष बन्ने शर्तमा माओवादी माछापुच्छ«े गाउँपालिकाको अध्यक्ष भएका थिए । तर अहिले उनी संस्थापन पक्षमापनि खुट्टा टेक्न र कोइराला समूहमापनि उभिन नसकी दोधारे चरित्र देखाइरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।