जुना थापा, पोखरा । स्कुल जाँदा आउँदा बाटोमा लोकभाका गुनगुनाउँदा छिमेकी भाउजूले “ओहो ! चिना त बिमाकुमारी दुराजस्तै गायिका बन्छ क्याहो ?” भन्ने वाक्यले १२ वर्षको कलिलो बाल मस्तिष्कमा गहिरो छाप छोडे पनि चिनालाई थाहा थिएन साँच्चिकै गायिका बन्छु भन्ने । उनी भन्छिन्, “बिमा दिदीजस्तै त बन्न सकिएला, नसकिएला तर सांगितिक यात्रा भने निरन्तर चलिरहेको छ ।
संगीतको नशा लागेको छ, अब त संगीतबिना बाँच्न पनि सक्दिनँ । पढ्दापढ्दै मोफसलमा रहेर लोक संगीतमा भविष्य कोरिरहेकी नाम हो चिना थापा मगर । मोफसलमा औंलामा गन्न मिल्ने गायिका मध्ये चिना पनि एक हुन् ।

संगीत नै जीवन ठान्ने चिना स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर ३ तल्लो खालीमा बुबा हुमबहादुर थापा मगर र आमा पूर्णकला थापा मगरकी कान्छी छोरीको रुपमा जन्मिएकी चिनाले पोखराको शिवशक्ति मावि फूलबारीबाट २०६४ सालमा एसएलसी पास गरी क्याम्पस पढ्दै सांगितिक यात्रालाई अगाडि बढाइरहेकी चिनाले मोफसलमै रहेर गीतसंगीतलाई पेसाका रुपमा अंगालेकी छिन् ।
गाउनमा मात्र होइन नृत्य र अभिनयमा पनि उत्तिकै अब्बल चिनाले हौकि क्याहो अर्कैको काइला, सुनको औंठी बैना मारौं कि, आकाशको जून सालैजो, झन् राम्री भैछ्यौ सोल्टिनी कौडा हाम्रो सम्बन्ध तोडेर गयौ, पोखरै रमाइलो फेवातालको पानीलगायत् थुप्रै लोक तथा दोहोरी, कौडा, सालैजो, लोकपप गीतमा स्वर भरेकी चिनाले ती गीतमा अभिनय र नृत्य पनि गरेकी छिन् ।

चिना भन्छिन्, “गीत गाउँदै नाच्दै गर्ने सानैदेखिको बानी अहिले आएर पेसा अनि जीवन नै निकै खुसी लाग्छ । ” गाउन र अभिनय गर्न कुन सजिलो भन्दा दुवै विधा उत्तिकै महत्त्वपूर्ण र चुनौतीपूर्ण रहेको बताउँछिन् चिना । गीत संगीतले स्रोताको हृदय स्पर्श गर्दछ भने अभिनयले गायक गायिकाको कलाकारिताामा सुनमा सुगन्ध थप्ने बताइन् ।
गायक गायिकाले नै अभिनय र मोडलिङ गरिदिँदा त मोडलहरुको जागिर नै जाने भयो त भनी प्रश्न गर्दा मुस्कुराउँदै भन्छिन्ः “हाहा…. त्यस्तै त होइन, हामी प्रोफेशनल मोडल त होइन, आफूले स्वर दिएका र आफ्नो एल्बममा मात्र हो । आफूमा भएको प्रतिभा अलिअलि देखाउँ अनि खर्च पनि कम गरौं भन्ने हो ।”
गीतसंगीतकै माध्यमबाट चिनाले देश तथा विदेशमा मेला, महोत्सवमा आफ्नो कलाकारिता प्रदर्शन गर्ने क्रममा हालसम्म हङकङ, कोरिया, ओमनलगायत्का देशमा पुगिसकेकी छन् । मेला महोत्सव र स्टुडियोको गायकीमा धेरै फरक रहने बताउने चिना स्टुडियोमा तन मन शान्त पारेर शब्दको भावको अनुभूति गर्नुपर्छ भने मेला महोत्सवमा दर्शकलाई नचाउन, खुसी बनाउन आफू पनि नाच्ने, गाउने र बाहिरी कुरामा बढी ध्यान दिनुपर्छ, यी दुबैका आआफ्नै विशेषता र आयाम रहेको बताउँछिन् ।
हरेक पेसा र क्षेत्रको आआफ्ना अवसर र चुनौती भएजस्तै सांगितिक क्षेत्रमा पनि अवसर र चुनौती भएको बताइन् । अहिले कलाकारितालाई केही रुपमा सम्मानजनक रुपमा हेरिए पनि पारिश्रमिकका कुराहरुमा केही विभेदहरु रहेको बताइन् । सामाजिक सञ्जाल र मिडियाका कारण नयाँ कलाकार र प्रतिभावान् कलाकारका लागि निकै अवसरका ढोकाहरु खुलेको बताउँछिन् चिना थापा मगर ।
हरेक क्षेत्रमा कामको निरन्तरता नै सफलताको खुड्किलो बताउने चिना पछि आउने पुस्ताका लागि प्रेरणाको स्रोत बन्न चाहन्छिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






