पोखरा, चैत ११
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगत र वर्तमान अवस्थाकोबारे जनतालाई तथ्य केलाएर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको संस्था कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषदको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले युरोप, अमेरिकाको विकाससँग तुलना गरेर नेपालमा केहि भएन भन्दै व्यवस्थामाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाए । मक्किएको राजतन्त्र असफल, असान्दर्भिक व्यवस्था भएको टिप्पणी गर्दै उनले अहिले राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार भएको बताए । ‘त्यो जमातले पहिले राम्रो थियो अहिले बर्बाद बनाए बनाएर भनेर भन्न थालेका छन्, उनले भने,‘हिजोचाहिं राम्रो थियो, अहिलेचाहिं खत्तम भयो भन्ने भाष्य स्थापित गर्न खोजिएको छ, तर त्यस्तो होईन ।’

उनले राजतन्त्रको समयमा प्रतिव्यक्ति आय वार्षिक २ सय रुपैयाँ रहेको तर अहिले त्यो बढेर १ हजार ५ सय पुगेको, तत्कालीन अवस्थामा नेपालको कुल गाह्र्यस्थ उत्पादन साढे ४ खर्ब रहेकोमा अहिले बढेर ५७ खर्ब पुगेको, राजाको पालामा ४ प्रतिशत घरमा रहेको बिजुली अहिले ९९ प्रतिशतमा पुग्दापनि गणतन्त्रमा काम नभएको भनेर आलोचना भइरहेकोप्रति आश्चर्य व्यक्त गरे । उनले भने,‘तथ्याङ्कले अहिले धेरै भएको देखाउँछ तर यो ग्राफ तुलना गरेर कसले बुझाउँछ ? तपाईंहरुजस्ता बुद्धिजिवी र बैंकर्सहरुले बुझाउनुपर्छ ।’

एमाले महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई उत्पादनमुखी व्यवसायीक कृषि प्रणालीमा रुपान्तरण गर्न कृषि विकास बैंकले भूमिका खेल्नुपर्ने बताए । पहिले ७० प्रतिशत जनसंख्या कृषिमा रहेको तर अहिले पढेलेखेका युवाहरुले कृषि कर्म नगर्दा त्यो २५ प्रतिशतमा झरेका कारण ठूलो संख्यामा बेरोजगार बनेको दाबी गर्दै उनले भने,‘तिनीहरुलाईपनि रोजगार बनाउनेगरी बैंकले लगानी गर्नुपर्छ ।’

नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले कृषि विकास बैंक जनताको आमा भएको बताए । त्यसैले यसको स्वच्छता, स्वस्थता र नवितासहितको गतिशिलतामा ध्यान दिन जरुरी छ,उनले भने,‘यो बैंकले जनताको जीवनस्तर उठाउन सघाउनुपर्छ ।’ अधिकारीले गुमेको स्वर्ग फर्काउन राजावादीहरु तम्सिरहेको बताए । तर त्यो कदापी सम्भव नहुने बताउँदै उनले थपे,‘आफ्नो पार्टीको सभापती बनाए हुने ठाउँमा जोगीको कनफट्टा (राजतन्त्र)को पछि लागेका छन् । तर यसको पछि लागेर केहि हुँदैन ।’ उनले कर्मचारी ट्रेड युनियनलाई थप बलियो बनाएर लैजान आवश्यक रहेकोपनि बताए ।
नेकपा एमाले गण्डकी प्रदेश ईञ्चार्ज किरण गुरुङले विकासका लागि बैंक आधारका रुपमा रहेकाले त्यसको सबलीकरणमा कर्मचारीले योगदान गर्नुपर्ने बताए । तर कर्मचारीको हक, हित र अधिकारसँगै उनीहरुको जीवनस्तर सहज बनाउनेतर्फपनि व्यवस्थापनले ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कर्मचारी संगठनहरुका १५ बुँदे मागमध्ये १३ बुँदा सम्बोधन भइसकेको बताए । बाँकी दुई बुँदापनि चाँडै कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रमका अन्य वक्ताहरुले बैंकका कर्मचारीलाई कर्जा असुल गर्न जाँदा हातपात गर्ने, हप्काउने दप्काउने, आक्रमणको चेतावनी दिनेलगायतका कार्य गरेकोप्रति आपत्ति जनाए । उनीहरुले कर्मचारी ट्रेड युनियनमाथि हमला गर्ने कार्यपनि रोक्न चेतावनी दिए ।
कार्यक्रममा कृषि विकास बैंक कर्मचारी संघका ७ जना पूर्व अध्यक्षहरु भोजराज भट्टराई, ताराखर अधिकारी, कविप्रसाद पाठक, जिवराज बस्याल, ध्रुवराज खनाल, कुलप्रसाद शर्मा र मोहिनी खनाल तथा बैंकका पूर्व उपमहाप्रबन्धक दीर्घबहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष लिला जिसी क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कृषि विकास बैंकका गण्डकी प्रदेशका कार्यकारी निर्देशक घनेन्द्र अधिकारी, संघका बरिष्ठ उपाध्यक्ष छगेन्द्र आचार्य, कृषि विकास बैंक कर्मचारी युनियनका सोम गुरुङ, कृषि विकास बैंक कर्मचारी संगठनका अध्यक्ष ईन्द्रमणी ढुंगानालगायतले बोलेका थिए ।
कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषदले नया नेतृत्व सर्वसम्मत चयन गर्ने कृषि विकास बैंक कर्मचारी संघ गण्डकी प्रदेशका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







