तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८१ मा प्रकाशित




बन्दीपुर । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा भएका ४४ वटा सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका हुन् । ती दुर्घटनामा ८१ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर चन्दका अनुसार ती दुर्घटनामा २४ पुरुष, २० महिला र चार बालबालिकाको मृत्यु भएको हो । चालु आवको साउनमा मृत्यु नभएको, भदौमा २९, असोजमा चार, कात्तिकमा दुई, मङ्सिरमा एक, पुसमा दुई, माघमा आठ, फागुनमा एक र चैत १० गतेभित्र थप एक जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २४ हजार छ सय ४१ सवारीबाट रु दई करोड तीन लाख ४० हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयले नियम उल्लङ्घन गर्ने ट्रक, टिपर, बस, जिप, मोटरसाइकल, स्कुटरलगायत सवारीलाई कारबाही गरी उक्त रकम असुलेको हो ।

तीव्रगतिमा सवारी चलाउनेलाई राडरगनका माध्यमबाट समयसमयमा अनुगमन गरी कारबाही पनि हुँदै आएको उनले जानकारी दिए । मुग्लिन– पोखरा सडक विस्तार भइरहेकाले दुर्घटना जोखिम घटाउन सुरक्षाकर्मीले हरसम्भव प्रयास गरेका उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।