सरकारको निर्णय बदर गर्न माग गर्दै कुलमान घिसिङ सर्वोच्च अदालतमा


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेकाअनुसार बुधबार पेस भएको घिसिङको रिट निवेदन आज दर्ता भएको हो । उक्त विवादमा आगामी शुक्रबार सुनुवाइ हुने जनाइएको छ ।

रिट निवेदनमा भनिएको छ, “नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय र सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरी उपरोक्त निर्णय एवं पत्र र कारबाहीको आधारमा निवेदकलाई नियुक्ति मितिदेखि चार वर्षको अवधि अगावै सेवाबाट हटाउने कार्य नगर्नु र सेवामा रही नियमित कामकाज गर्न नरोक्नु नरोकाउनु, कुनै बाधा व्यवधान नगरी यथावत काम कारवाही गर्न दिनु ।”

चार महिना कार्यकाल बाँकी रहँदा गत सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।