ल्वाङ गाउँमा ३१ औं चैते दशैं मेला सुरु


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०८१ मा प्रकाशित




पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१ औं चैते दशैं मेला सुरु भएको छ ।

‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रिन हिल क्लबको आयोजनामा सुरु मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे ।

कार्यक्रममा उनले चिया खेतीका कारण मिनि इलामका रुपमा परिचित ल्वाङ गाउँमा आँर्फैमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए । युवा सकृयतामा विगत लामो समयदेखि चैते दशैँ मेला आयोजना गरिदै आइएको उल्लेख गर्दै आम युवामाझ सकारात्मक सोचको अभिबृद्धि बर्तमानको आवश्यकता भएको बताए ।

हाम्रो अपेक्षा विद्यमान सिमित स्रोतसाधन भन्दा बढी भएका कारण सबै समस्या एकैपटक समाधान हुन सम्भव नभएको भन्दै उनले समयसँगै समस्याहरु क्रमशः समाधान हुँदै जाने बताए । देशमा केही भएन भन्ने भन्दा पनि भइरहेका काम हेरेर हामी स्वयम् सकारात्मक बन्न जरुरी रहेको र युवामा सकारात्मक सोच निर्माण गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।
पोखराबाट करिब २४ कि. मि. को छोटो दुरीमा अवस्थित पर्यटकीय गन्तव्यको रमणीय ल्वाङ गाउँ आन्तरिक साथै वाह्य पर्यटकहरूको गन्तब्य भएको उनले उल्लेख गरे । यस क्षेत्रका पूर्वाधार विकासका लागि प्रदेश सरकारको निरन्तर साथ र सहयोग रहने मन्त्री केसीको भनाइ छ ।

पर्यटकीय गाउँहरू धम्पुस र ल्वांगलाई मितेरी सम्बन्ध लगाउन चालु आ.ब.मा घट्टेखोला धम्पुस सडकको ठेक्का व्यवस्थापन भएर सम्झौता भईसकेको जानकारी दिदै उनले अब छिट्टै नै घट्टेखोला धम्पुस सडकमा निर्माण व्यवसायीले कार्य आरम्भ गर्ने र यी दुई गाउँको भगिनी सम्बन्ध स्थापित बन्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुुरुङले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए । सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने गरी विधेयक अघि बढाएको बताउँदै उहाँले आगामी दिनमा घरेलु मदिरा कसरी गुणस्तरीय बनाउने हो त्यसतर्फ लाग्न पनि सुझाए ।

ग्रिन हिल क्लबका अध्यक्ष सुजन गुरुङले गाउँको पर्यटन प्रवद्र्धन एवम् संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जानकारी दिए ।उक्त अवसरमा ल्वाङ गाउँमा प्राचीन कालदेखि सञ्चालन हुँदै आएको कटुवाल प्रथालाई निरन्तरता दिन आफ्नो जीवनको ५५ वर्ष समय योगदान गरेका ज्येष्ठ नागरिक हस्तबहादुर परियारलाई क्लबका तर्फबाट दोसल्ला र सम्मापत्र प्रदान गर्दै मन्त्री केसीले सम्मान गरेका थिए । उक्त अवसरमा सडक निर्माणका क्रममा आवश्यक जग्गा दानगर्ने जग्गादातालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले कास्कीका उपसचिव लालबहादुर परियार, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, ल्वाङ समितिका अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वांगका प्रमुख लेखनाथ गौतम, लगायतले बोलेका थिऐ ।

आगामी चैत २७ गतेसम्म चल्ने मेलामा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता लगायत विभिन्न सांकृतिक कार्यक्रम हुने जनाइएको छ । सडक उद्घाटन मन्त्री केसीले आजै भाङखोलादेखि ल्वाङसम्मको नवनिर्मित बाटोको उद्घाटन गरे । गण्डकी प्रदेश सरकारको करिब पाँच करोडको रुपैयाँको लागतमा उक्त क्षेत्रमा पहिलो चरणमा एक हजार २४ मिटर ढलान बाटो निर्माण गरिएको हो । मन्त्री केसीलाई खोराको मुख क्षेत्रका स्थानीयले मर्दी खोलामा ल्वाङ खोराको मुखबाट र रिभान जोड्ने ७० मिटर लामो प्रस्तावित सडक पुल निर्माणका लागि बजेट सुनिश्चित गरी प्रक्रिया अघि बढाइएको भन्दै स्वागत समेत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।