पोखरा, चैत २६
पोखरामा सवा अर्बको लागतमा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा एक अर्ब २५ करोडको लगानीमा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको हो । पोखराका स्थापित पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेलसहितको चिल्ली ग्रुपले सञ्चालनमा आएको यो होटलले हाल प्रारम्भिक (सफ्ट ओपनिङ) सेवा प्रारम्भ गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । बैशाखदेखि भने पूर्ण रुपमा सञ्चालनमा आउने सञ्चालकले जनाएका छन् ।

हालैमात्र सञ्चालनमा आएको यस होटल नेपाली मौलिकतामा आधारित तर अन्तर्राष्ट्रिय स्तरको भएको होटलका अध्यक्ष विश्वराज पौडेलले बताए । बुटिक अवधारण अनुसार निर्माण गरिएको यस होटलमा नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ । होटललाई पर्यावरणमैत्री बनाइएको होटल सञ्चालकको दाबी छ । जसको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई मौलिकतासँगै आत्मीयता प्रदान गर्ने उनको भनाई छ ।

होटल करीब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए । होटलमा अगाडि र पछाडि गरी दुईवटा इन्टरकनेक्टेड ब्लक छन् । होटलमा कुल ५५ कोठामध्ये ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट कोठा रहेको उनले बताए ।

होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकोजीसहितको स्वीमिङ पुल रहेको प्रबन्ध निर्देशक पौडेलले बताए । उनका अनुसार होटलमा ‘बुद्ध सदन’ नामक सम्मेलन हल, स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, ‘यती एन्ड यती’ नामक बार, ‘आँटी’ नामक आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टपनि छन् ।

होटलमा स्वदेशी पाहुनाका लागि सिंगल रुमको ७ हजार ५ सय र डबल रुम ८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । विदेशी पाहुनाका लागि भने सिंगल रुमको १२ हजार र डबल रुमको १४ हजार रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । त्यस्तै, स्वीट रुम स्वदेशी पाहुनाका लागि ३५ हजार रुपैयाँ र विदेशीका लागि ४८ हजार रुपैयाँ कायम गरिएको उनले बताए । प्याकेजमा फ्री एक्सक्लुसिभ ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र ड्रपको सुविधा र स्पा सर्भिसमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको पौडेलले बताए ।

पवित्रता र सकारात्मक ऊर्जाको प्रतीक भएकाले होटलको नाम ‘टेम्पल बेल’ अर्थात् मन्दिरको घण्टी राखिएको अध्यक्ष विश्वराज पौडेलले स्पष्ट पारे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







