पोखरामा भोलि एमालेको बृहत् जागरण सभा, १८ हजार उतारेर शक्ति प्रदर्शन गर्ने एमालेको तयारी


     एभरेस्ट आवाज    
     चैत्र २९ गते २०८१ मा प्रकाशित





पोखरा, २९ चैत

नेकपा ९एमाले० जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो ।

सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९, ३०, ३१, ३१ को टोली सहभागी हुनेछन् ।

सभागृहको र्‍यालीमा पोखरा–५, ६, ७, ८, ९, १७, २१, २२, २३, ३३ र पोखरा–१८ र २४ को तल्लो भाग, नदीपुरमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, पोखरा–१, २, ३, ४, १६, १९, २५ र पोखरा–१८ र २४ को तल्लो भागको टोली सहभागी हुने एमाले कास्की उपाध्यक्ष भेषराज बरालले जानकारी दिए ।

जागरण सभामा कास्कीसहित तनहुँ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट पनि सहभागिता रहनेछ । र्‍यालीपछिको सभालाई नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नेछन् । र्‍यालीमा १८ हजार जनाको सहभागिता रहने गरी तयारी सकिएको उपाध्यक्ष बरालले बताए ।

जागरण सभाले गर्दा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा सवारी आवागमनमा अवरोध हुनसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न एमाले कास्की सचिव दर्शन लामाले आग्रह गरे । कार्यालय, विद्यालय बन्द रहने दिन भएकाले जागरण सभाले कार्यालय र पठनपाठनमा अवरोध नगर्ने उनको भनाइ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।