अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०८१ मा प्रकाशित




पोखरा, चैत ३०

नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरुले ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् ।

कला, साहित्यका अध्येता, अन्वेषक निर्देशक/लेखक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु सुनाएर कार्यक्रम शुरु भएको थियो ।

टिम हार्मोनीद्वारा “सरस्वती बन्दना” प्रस्तुत गरिएको थियो भने “दाइलाई बोलाउ भनें” गीत समूहगत रुपमा प्रस्तुत गरिएको थियो। “उकाली ओरालीहरूमा” र “भेटिनु छुटिनु त” गीत इतु जोजिजुले गाएकी थिइन्। “लुकु लुकु लाग्यो मलाई” गीतमा इतु जोजिजु र रामभक्त जोजिजुको युगल प्रस्तुति रहेको थियो। “ए कान्छा, मलाई सुनको तारा” गीत सितल थापा र रामभक्त जोजिजुले प्रस्तुत गरे। सितल थापाले “सागुरी बारी नि है” र “काली पारि दाइ कति राम्रो” गीत (कौशल्या गुरुडसँग मिलेर) प्रस्तुत गरिन्। कौशल्या गुरुङले “यति धेरै माया दिई” गीत गाइन् भने बबी सुनारले “पोहोर साल” को धुन प्रस्तुत गरे। मितु पाल सिंहले “तिम्रा पाउहरूमा म”, रजनी ऋदम राईले “फूलै फूलको मौसम तिमीलाई”, र देवी गुरुङले “उडी जाउँ भने” गीत गाइन्।

संगीता राना प्रधानले “सरस्वती बन्दना” तथा सुरशक्ति शास्त्रीय रागमा गायन प्रस्तुत गरिन्। टिम हार्मोनीले प्रस्तुत गरेको “सुनगाभा जस्तो जीवन” (शान्तिदीप चलचित्र), “यो मायालाई भार ठान” र “हाम्रो साहेबको बन्दुक निसान कडारे” जस्ता गीतहरू पनि कार्यक्रमको आकर्षण बने।

कलाकार एकपछि अर्को गर्दै स्टेज छढ्दै जाँदा सांगीतिक न्यानोपन गाढाहुँदै गयो । पोखरामा रहेरपनि राष्ट्रिय स्तरमा चर्चित ईतु जोजिजूले उकाली ओरालीहरुमा’ गाउँदा होस् वा ईतुले आफ्ना श्रीमान रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाईरह्यो । अर्की पोखरेली गायीका सितल थापाले ‘सागुरी बारी नि है’ र सितलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मितु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा सांगीतिक माहोल नै छुट्टै बनेको थियो । त्यसमा काठमाण्डौमा क्रियाशिल महिला गायिकाहरुको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष बरिष्ठ गायिका संगीता राना प्रधानले ‘सरस्वती बन्दना र सुर शक्ति बोध शास्त्रीय राग गुञ्जाउँदा सांगीतक माहोल सुनमा सुगन्ध थपेझैं भएको थियो । सो अवसरमा बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिईन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्यले स्मृतिको संरक्षण र सांस्कृतिक पहिचान जोगाउन यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिए। उनले महानगरको तर्फबाट आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक प्रयासमा आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए।

बाद्यबादनमा पर्बिन्दर सिंह (ढोलक), राजा मुखिया (तबला), तेज के.सी.(बेस गितार), सुमन तामाङ(गितार), राजेश बिष्ट (कि बोर्ड), गुप्त गुरुङ (अक्टोप्याड) ले साथ दिएका थिए ।

एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले हरेक वर्ष स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि हरेक वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्दै आएको बताए । तर यस वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्ने तयारी चलिरहँदा आयोजक बाद्यबादन टिम र हार्मोनीका एक सदस्य गितारिस्ट सञ्जिव पालको असामयीक निधन भएपछि स्थगित भएको कार्यक्रम चैत अन्तिम शनिबार गर्नुपरेको स्पष्ट पारे । कार्यक्रममा स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवी तथा कुशल गितारिस्ट सञ्जिव पालप्रति श्रद्धाञ्जली अर्पण गर्दै तस्बिरमा माल्यार्पण गरिएको थियो ।

पोखरा महानगरपालिकाको प्रवद्र्धन र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रमको साझेदारहरुमा डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड, रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुल, एभरग्रिन एकेडेमी, बेटर होम एप्लाईन्सेस, सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी (सलिको), सिटिजन फर्निचार न्यूरोड, फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैहापाटन, नारी कलेक्सन चिप्लेढुंगा, कन्चन क्यापिटल अर्चलबोट, मिनबहादुर शेरचन स्टोर्स, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडांडा, ड्याडिज किचन् र सफल मिडिया हाउस रहेका थिए ।

कार्यक्रमको इभेन्ट पार्टनर्समा हस्पिटालिटी पार्टनरका रुपमा होटल पोखरा भिलेज हल्लनचोक, दि ग्राउण्ड्स खहरे र सुईखेत रिभर भ्याली रिसोर्ट पोखरा २५, टेलिभिजन पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजन, अनलाईन पार्टनरका रुपमा एभरेस्ट आवाज डटकम, प्रोमोटेड बाईमा परिचय एडभर्टाईजिङ, साउण्ड पाट्नरका रुपमा एस.के.साउण्ड र भेन्यू पार्टनरका रुपमा पोखरा इभेन्ट सेन्टर रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।