टिकटक बनाउने क्रममा कालीगण्डकीबाट पोखराकी एक महिला बेपत्ता


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०८२ मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।

कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् ।

पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।

बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए । प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ ।

उनीसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनीहरु भने सकुशल फर्किएको प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा वैशाखे सङ्क्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनको घुइँचो लाग्छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।