मालढुङ्गा-बेनी सडक धमाधम स्तरोन्नति हुँदै


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०८२ मा प्रकाशित




साङ्केतिक तस्विर ।

“तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ ।

मालढुङ्गा–बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए । करिब दुई किलोमिटर ढलान पनि गरिएको छ ।

चार वर्षअघि रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उनले बताए । पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो ।

हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।