
पोखरा महानगरपालिका वडा नं। १७ मा वैशाख १७ गतेदेखि जेठको २६ गते सम्म हुने श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञका लागि भूमि पूजन गरिएको छ । यसअघि पोखरा ६ लेकसाईडमा गर्ने भनिएको कोटिहोम महायज्ञ ठाउँ सरेर विरौटा लगिएपछि बुधबार भूमि पुजन गरिएको हो । पहिलेको ठाउँ परिवर्तन भएपछि पहिले गरेको भूमि पुजनले नहुने भएकाले विरौटामा पुनः भूमि पुजन गरिएको हो । बुधबार पूर्वाह्न ११ बजेर १ मिनेटमा दीप प्रज्वलनसहित भूमि पूजन गरिएको थियो । महायज्ञका लागि बुधबारदेखि नै मूल हवन कुण्ड खन्नपनि थालिएको छ । बिहान ११ बजेर ११ मिनेटमा मूल हवन कुण्ड खन्न सुरु गरिएको आयोजक मानवसेवा फाउण्डेसनका संस्थापक विजय कृष्णमूर्तिले जानकारी दिए ।
भूमिपूजनको शुभारम्भको अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीले पोखरा १७ मा शतसयकुण्डीय कोटिहोम हुनु गौरवको विषय भएको बताईन् । उनले वडा नं १७ स्थित हरिहर मन्दिरको जग्गामा महायज्ञ गर्ने निर्णयमा गर्ने निर्णय भएकोमा आयोजकलाई धन्यवाद दिईन् ।
विश्व हिन्दु महासङ्घका बरिष्ठ उपाध्यक्ष शङ्कर खरालले पोखराको विरौटामा हुन लागेको कोटिहोम महायज्ञ ईतिहासकै सबैभन्दा विशाल भएको बताए । आध्यात्मिक व्यक्ति योगी नरहरिनाथको सङ्कल्पमा निर्मित हरिहर मन्दिरमा कोटिहोम गर्न पाउनु गौरवको विषय हो,उनले भने,यति विशाल कोटिहोम न विगतमा भएको थियो र न अब हुनेछ ।
महायज्ञमा सदाझैं बुधबारपनि कथावाचक बाल विदुषी अनुराधा पाण्डेयले कथावाचन गरिन् । संस्थापक विजय कृष्णमूर्तिका अनुसार महायज्ञको लागि बिहीबार देवी प्रतिभा पोखरा आउँदैछिन् । उनले बैशाख ५ गते शुक्रबारबाट कथावाचन गर्ने आयोजकले जनाएको छ । गत चैत्र १७ गते देखि नै कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरू भइरहेको छ । कोटिहोमकै अवसरमा राष्ट्रिय भजन प्रतियोगिता समेत गरिनेछ ।
बैशाख ११ गते वृहत साइकल प्रभातफेरी, बैशाख १२ गते वृहत ट्याक्सी प्रभातफेरी, बैशाख १३ गते वृहत मोटरसाइकल प्रभातफेरी, बैशाख १४ गते वृहत डुङ्गा प्रभातफेरी, बैशाख १५ गते वृहत पैदल यात्रा, बैशाख १६ गते वृहत मङ्गलमय कलश यात्रा हुनेछ ।
कोटिहोम महायज्ञको पूर्वाङ्ग बैशाख १७ गते बिहान गरिनेछ । बैशाख १९ गतेबाट हवनात्मक कार्य प्रारम्भ गरिनेछ भने सोही दिन अग्नि मन्थन, अग्नि कुण्डमा अग्नि प्रवेश गराउने, अग्निमा समिधा दान, अग्नी कुण्णमा आहूति प्रदान गरिनेछ । जेठ २६ गते कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरि अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्य गरिने आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल पोखराले जानकारी दिएको छ । महायज्ञ पोखरा १७ बिरौटामा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्रमा आयोजना गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।