
पोखरा, चैत ५
गृहमन्त्री रमेश लेखकले व्यवस्थामाथि प्रहार गर्ने जोसुकै भएपनि क्षम्य नहुने बताएका छन् । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले भने,‘ पूर्वराजा वा राजावादीका नाममा वा अन्य विभिन्न समूहका नाममा मुलुकमा अस्थिरता उत्पन्न गर्ने, संविधानलाई समाप्त गर्ने, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई समाप्त गर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य हुनेछैन, सह्य हुने छैन ।’

गृहमन्त्री लेखकले सहिदहरुको बलिदान, अग्रजहरुको त्याग र तपस्याबाट प्राप्त व्यवस्था र संविधान विश्वकै उत्कृष्ट भएकाले यसको रक्षा गर्नू राज्यको दायित्व भएको बताए । त्यसको रक्षाका लागि दृढतापूर्वक लाग्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै उनले थपे,‘यो संविधान फाल्ने, भत्काउने, च्यात्ने र देशमा अस्थिरतामा निम्त्याउने कार्य सह्य र क्षम्य हुन सक्दैन । यसको नियन्त्रण र निस्तेज गर्ने कुरामा हामी दृढ हुनुपर्छ ।’ राजावादीका नाममा विध्वंशात्मक गर्ने, हत्या, हिंसालाई प्रश्रय दिने र जोरजबरजस्तीमार्फत देशलाई अस्थिरतामा लैजाने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य जिम्मेवारी भएको उनले बताए ।
गृहमन्त्री लेखकले यहि व्यवस्थामा सरकारको आलोचना गर्ने, प्रधानमन्त्री वा मन्त्रीहरुको आलोचना गर्ने वा विरोध गर्ने हक भएको बताए । सरकारको आलोचना गर्न पाईन्छ, विरोध गर्न पाईन्छ,उनले भने,‘तर संघीय लोकतान्त्रिक संविधानलाई च्यात्न पाईंदैन, समाप्त गर्न पाईंदैन । भत्काउन वा फाल्न पाईंदैन । त्यसैले तपाईंहरु संविधान रक्षाका लागि दृढतापूर्वक उभिनूस् ।’
गृहमन्त्री लेखकले संविधान संसोधन हुनसक्ने बताए । सहमतीका आधारमा संविधान संसोधन गर्छौं,उनले भने,‘तर संविधान संसोधन अग्रगामीमा जानका लागि हुन्छ । पश्चगामी हुन सक्दैन ।’
सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धानका प्रदेश र जिल्लास्थित कार्यालयका प्रमुखहरुको सहभागिता छ । सुरक्षा गोष्ठीले गण्डकी प्रदेशको सुरक्षाको अवस्थाबारे विश्लेषण गर्दै त्यसलाई चिर्न अप्नाउने सुरक्षा रणनीति तयार गर्ने बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।