६३ वर्षको उमेरमा पोखराकी एकल महिलाले पाईन् नागरिकता


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख ७

पोखराकी ६३ वर्षिया बृद्धा सुकुमाया नेपालीले ६३ वर्षको उमेरमा नागरिकता पाएकी छन् । पतीसमेत गुमाईसकेकी नेपालीले जन्मेको ६३ वर्षपछि नागरिकता पाएकी हुन् । चार छोरी र आधा दर्जन नातीनतिनाको हजुरआमा भएपछि नागरिकता पाउँदा उनी दंग छिन् । जन्मेको ६३ वर्षपछि, विवाह गरेको झण्डै ४० वर्षपछि अनि पतीको निधन भएको झण्डै ११ वर्षपछि नागरिकता पाउँदा उनको हर्षको सीमा छैन ।

जन्मदर्ताको आधारमा उनी ६३ वर्षको भएपनि उनलाई चिन्नेहरु उनको वास्तविक उमेर ७० कटेको बताउँछन् । पोखरा–२८ कालिकामा जन्मेकी सुकुमायाको विवाह ४० वर्षअघि पोखरा–५ मालेपाटनका फुलबहादुर नेपाली (नानीबाबु)सँग भएको थियो । श्रीमान फुलबहादुर भईञ्जेल उनले न विवाह दर्ता गरिन् नत नागरिकता नै बनाईन् । श्रीमानको मृत्यूपछिपनि उनलाई नागरिकताको चासै भएन ।

तर जब नातिनी (ठूली छोरीकी छोरी)लाई विदेश पठाउनुपर्ने भयो तब हजुरआमा भइसकेकी सुकुमायाको नागरिकताको खोजी भयो । पहिले त आवश्यक्ता नै थिएन, त्यहि भएर नागरिकता बनाउने भन्ने नै भएन,उनले भनिन्,‘तर अहिले नातिनीलाई चाहिएपछि मेरो नागरिकताको खोजी भयो ।’

नागरिकता बनाउन त बनाईन् तर नागरिकता बनाउँदाको सास्तीको कहानी छुट्टै छ । उनी नागरिकता बनाउनका लागि आफू जन्मेको पोखरा–२८ कालिका, विहे गरेर घरजम गरेको पोखरा–५ मालेपाटन, बसाईं सरेर गएको पोखरा–१९ र पोखरा–११ फूलबारी मात्र होईन हाल बसोबास गरिरहेको पोखरा–९ को वडा कार्यालय दर्जनौं पटक पुगिन् । त्यतिमात्र होईन उनी नागरिकता बनाउनका लागि आधा दर्जन पटक त जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धाईन् । उनले सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग पटक÷पटक कुरा गरिन् । किनकी उनीसँग न जन्मदर्ता थियो, नत विवाह दर्ता नै ।

तर निरन्तरको प्रयासले झण्डै चार महिनापछि सुकुमायाले नागरिकता पाएकी छन् । यसमा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बराल र पूर्व वडाध्यक्ष तथा सामाजिक अभियन्ता धनबहादुर नेपालीको साथ, समर्थन र पहलले सम्भव भएको हो । अभियन्ता नेपालीले प्रमाण जुटाउन मात्रै ४ महिना भौतारिनु परेको बताए । जहाँ जहाँ बस्नुभयो, त्यहाँ त्यहाँ प्रमाण लिन गयौं,उनले भने,‘सबै ठाउँबाट सर्जिमिन र मुचुल्का बनाएर प्रमाणसहित साक्षी बसेपछि बल्ल नागरिकता बनाउन सफल भयौं ।’

हजुरआमा सुकुमायाको नागरिकता बनेपछि उनका छोरी तथा नातिनीहरुकोपनि नागरिकता बनाउने बाटो खुल्ला भएको पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । ढिलै भएपनि नागरिकता पाउनु भएको छ,उनले भने,‘अब सबै छोरी तथा नातिनीहरुलेपनि नागरिकता पाउने बाटो खुल्यो ।’

सुकुमायाकी जेठी छोरी विष्णु नेपालीले आमाको नागरिकता बनेपछि बल्ल आफू र आफ्नो छोराछोरीको नागरिकता पाउने आधार बनेको भन्दै खुशी व्यक्त गरिन् । भनिन्,‘नागरिकता नबनेर कतै छोराछोरीले सरकारी जागिर खान, विदेश जान वा अन्य कुनै काम गर्न पाउँदैनन् कि भन्ने चिन्ता थियो तर अब भने ढुक्क भयो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।