तीन गाउँले थकाली सेवा समाजको नवनिर्मित दोश्रो तला भवनको उद्घाटन

- संयोजक थकालीलाई सम्मान


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख ८

पोखराको घारीपाटनस्थित तीन गाउँले थकाली सेवा समाज नेपालको नवनिर्मित दोस्रो तला भवनको उद्घाटन भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ एयरपोर्ट निवासी शक्तिप्रसाद थकालीले आफ्नी धर्मपत्नी स्व.भीमकुमारी थकालीको स्मृतिमा निर्माण गरिदिएको समाजको दोश्रो तला भवनको सहयोग दाता शक्तिप्रसादसहित पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य र पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा भीमकुमारी थकालीको स्मृतिमा निर्मित कक्षपनि उद्घाटन गरिएको थियो ।

सो भवनलको दोश्रो तला स्वर्गिय भीमकुमारीको श्रीमान शक्तिप्रसाद थकालीले १९ लाख ५० हजार रुपैयाँ खर्चेर निर्माण गरिदिएको भवन निर्माण समितिका संयोजक तथा समाजका सदस्य विक्रम थकालीले जानकारी दिए । भीमकुमारी सहारा क्लब पोखराका पूर्व अध्यक्षसमेत रहेका भवन निर्माण समितिका संयोजक विक्रम थकालीको सहोदर फूपू हुन् । फुपूको नाममा भवन निर्माण गर्न फूपाजू शक्तिप्रसादलाई प्रस्ताव लैजाँदा सहजै स्वीकार गरेको उनले बताए । भवन निर्माणपछि समाजका तथा अन्य कार्यक्रम आयोजना गर्न सहज हुने अपेक्षा गरिएको संयोजक थकालीले बताए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै व्यवसायीसमेत रहेका सहयोग दाता शक्तिप्रसादले भवनको आगामी दिनमा पनि संरक्षण र सम्बद्र्धन गरिरहने प्रतिबद्धता जनाए ।

पोखरा ७ का वडाध्यक्ष आचार्यले यो भवन अब वडाको पनि सम्पत्ति भएकाले आगामी दिनमा रङरोगन एवं संरक्षणमा सहयोग गर्ने वचन दिए ।

पोखरा ९ का वडाध्यक्ष मर्सानीले भवन निर्माण सम्पन्न गर्नका लागि थप १ लाख रुपैयाँ दिने घोषणा गरे ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका पूर्व अध्यक्ष आशबहादुर थकालीले तीनगाउँलेको पहिचान भनेको समाजघर भएको बताए ।

समाजका निवर्तमान अध्यक्ष गणेश थकालीले २०५१ सालमा पोखरा समाजघर स्थापना भएको जानकारी दिए ।

भवन निर्माण समिति संयोजक विक्रम थकालीले निर्माणमा १९ लाख ३७ हजार खर्च भएकोमा १२ हजार बचत भएको आर्थिक विवरण सार्वजनिक गरे । स्व.फुपूप्रति श्रद्धासुमन व्यक्त गर्दै उनले भवन निर्माणमा ठूलो रकम सहयोग गर्ने आफ्ना भिनाजुसहित सम्पूर्णलाई धन्यवाद तथा आभार आभार व्यक्त गरे ।

समाजका अध्यक्ष कमलप्रसाद थकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण थकाली र संचालन सचिव आशबहादुर थकालीले गरेका थिए ।

सो अवसरमा भवन निर्माणका दाता शक्तिप्रसाद थकाली, भवन निर्माण संयोजक विक्रम थकालीसमेतलाई सम्मान गरिएको थियो ।

घरपझोङ गाउँपालिकाको ठिनी, स्याङ्ग र चिमाङ्ग गाउँका आदिवासी तीन गाउँले थकाली समुदायको हाल पोखरामा करिब ७० घरधुरी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।