भूतपूर्व खेलाडी मञ्चको रजत वर्षमा, १२ महिना १२ कार्यक्रम गर्ने


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख ८

नेपाली खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षमा प्रवेश गरेको छ । २०५८ साल आजकै दिन बैशाख ८ गते स्थापना भएको मञ्च २५ वर्षिय रजत वर्षमा प्रवेश गरेको हो ।

‘पोखरा म्याराथन’लाई ब्राण्डका रुपमा स्थापित गरेको मञ्चले रजत वर्षमा हरेक महिना विभिन्न ईभेन्ट गर्ने जनाएको छ । मञ्चले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने बताएको छ भने त्यसबाहेक पोखरा महानगर पालिकाको “स्वच्छ पोखरा, स्वस्थ पोखरेली”को नारालाई आत्मसाथ गर्न सुरूवात गरिएको मासिक÷साप्ताहिक दौडलाई वर्षैभरी अर्थात १२ महिना १२ कार्यक्रम गर्ने घोषणा गरेको छ । जसका लागि महानगरसँगको सहकार्यमा ३३ वटै वडामा रुट मापन गर्ने बताएको छ ।

जस अन्तर्गत यहि बैशाख २० गते दृष्टिविहिन छात्र÷छात्रा दौड गर्ने गरिने मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । ज्येष्ठ महिनामा जन प्रतिनिधी दौड, असार २१ गते शनिबार सञ्चारकर्मी दौड, असार ९ गते सोमबार वक्तृत्व कला (मा.वि स्तरीय) आयोजना गरिने उनले बताए ।

मञ्चले साउन १७ गते शनिबार आमा समूह दौड, भदौ २१ ग्ते शनिबार ६०+सुपर भेट्रान्स दौड, भदौ ७ गते शनिबार चित्रकला प्रतियोगिता, कात्तिक १५ गते शनिबार कर्पोरेट दौड र साधारण सभा आयोजना गर्ने गुरुङले जानकारी दिए । त्यस्तै, मंसिर २० गते शनिबार सवारी चालक दौड, मंसिर २७ गते शनिबार पुनर्मिलन कार्यक्रम, पुस २६ गते परम्परागत छेलो प्रतियोगिता आयोजना गरिने उनले बताए ।

मञ्चले फागुन २ गते शनिबार २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड आयोजना गर्ने भएको छ भने आगामी वैशाख ८ गते स्मारिका विमोचन, राष्ट्रिय खेलकुद पुरस्कार वितरण र रजत महोत्सव समापन समारोह आयोजना गरिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

रजत वर्ष महोत्सवको शुभारम्भसहित नया वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले मञ्चले पोखरा अन्र्तराष्ट्रिय म्याथन प्रतियोगिता आयोजना गरेर पोखरा र देशको सान बढाएको बताए । उनले भने,‘यो देशको सान हो, अनि पोखराको गौरव हो ।’

कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय म्याराथनका प्रायोजक लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले मञ्चको पवित्र काममा सहकार्य गर्न पाउनू आफू र आफ्नो संस्थाको लागि अहोभाग्य भएको बताए । उनले भने,‘हामी यसलाई निरन्तरता दिन चाहन्छौं ।’

मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानभाटले खेलकुदको विकास नै आफुहरुको प्रमुख उद्देश्य रहेको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं मञ्चका सल्लाहकार गोकर्ण कार्कीले मञ्चसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवि आस्थाले पोखराबाहिरका तमाम पूर्व खेलाडीहरुलाई समेटेर लैजान सुझाव दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।