महिला उद्यमी संघ नेपाल, कास्की उद्यमशिलता प्रेरित गर्दै

- आश्रित महिलालाई हस्तकलाका सामग्री बनाउने कच्चापदार्थ र खाद्यान्न वितरण


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८२ मा प्रकाशित




पोखरा, बैशाख ९

महिला उद्यमी संघ नेपाल, कास्कीले कोपिला नेपालमा संरक्षित महिलाहरुका लागि हस्तकलाका लागि आवश्यक पर्ने कच्चा पदार्थ सहयोग गरेको छ । संघ कास्कीले आफ्नो १६औं स्थापना दिवसको अवसरमा मंगलबार कोपिला नेपालमा संरक्षित महिलाहरुलाई हस्तकलाका सामान उत्पादनमा सघाउ पुगोस् भन्ने उद्देश्यले हस्तकलाका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु धागो, कुरुषलगायतका सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको हो । त्यस्तै संघ, कास्कीले नगद २० हजार बराबरको खाद्यान्न सामग्रीसमेत प्रदान गरेको संघ, कास्कीकी अध्यक्ष सरु बरालले जानकारी दिईन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य (सांसद) संघ कास्कीकी संस्थापक अध्यक्ष तथा संरक्षक मीना गुरुङ, वर्तमान अध्यक्ष सरु बराल, पोखरा–६ का जनप्रतिनिधि वासुदेव बराल, निवर्तमान अध्यक्ष तथा महिला उद्यमी महासंघ नेपाल गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य पार्वती पौडेल रेग्मी, पूर्व अध्यक्ष काशी गुरुङ, कानूनी सल्लाहकार अधिवक्ता विनाका शर्मा लगायतले सहयोग सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक तथा कार्य समिति सदस्य वसन्ती खत्रीले जानकारी दिईन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघ कास्कीकी संस्थापक अध्यक्ष तथा संरक्षक मीना गुरुङले संरक्षित महिलालाई उद्यमशील बनाउनका लागि सहयोग गर्नू आफैमा उदाहरणीय कार्य भएको बताईन् ।

अध्यक्ष सरु बरालले संरक्षित महिलाहरुलाई उद्यमशिलतामा प्रेरित गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले हस्तकलाका सामग्रीहरु सहयोग गरिएको स्पष्ट पारिन् । कार्यक्रममा संघ कास्कीको १६ औं स्थापना दिवसको अवसरमा केक काटेर सेलेब्रेसन गरिएको थियो ।

अध्यक्ष सरु बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष एलिना बरालले स्वागत गरेकी थिईन् भने कोपिला नेपालकी क्षमता खड्काले संरक्षित महिलाका लागि उद्यमशिलताका लागि आवश्यक पर्ने सामग्रीहरु सहयोग गरेकोमा धन्यवाद दिएकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।