पोखरा–१३ मा दुई दिवसीय महिला नेतृत्व विकास तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरा–१३ सिग्देल मार्गस्थित महिला तथा बाल कल्याण कुञ्जको आयोजनामा वैशाख ६ र ७ गते दुई दिने महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन पोखरा–१३ का वडा अध्यक्ष किरण बरालले गरेका थिए। वडा अध्यक्ष बरालले उद्घाटन सत्रमा महिलाको सामाजिक, राजनीतिक तथा नेतृत्व क्षमताको विकासका लागि यस्ता तालिम आवश्यक रहेको बताउदै वडा कार्यालयको सदैव साथ रहने बताए ।
समापन सत्रमा समूहकी ज्येष्ठ सदस्य खिमादेवी सिग्देलले सहभागीहरूको सक्रिय सहभागिता र रुचीको प्रशंसा गर्दै सिकाइलाई व्यवहारमा उतार्न सक्न सके मात्र यस्ता तालिमहरू सार्थक हुने बताएकी थिइन्। कार्यक्रमका बिशेष अतिथि विश्लेषक/अध्येता बिश्व सिग्देलले महिला नेतृत्वमा आत्म बिश्वास, विश्लेषणात्मक क्षमता, सकारात्मक सोच र प्रभाबकारी भाषणकलाको महत्त्व रहेको र यस्ता तालिमहरूले त्यसलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए।
सहभागीहरूले तालिम जानकारीमूलक, व्यवहारिक र उत्प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले सिकेका सीपहरू व्यक्तिगत तथा सामुदायिक विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तालिमले स्थानीय महिलाहरूमा आत्मविश्वास, क्षमता र नेतृत्व चेतना अभिवृद्धि गर्दै सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

पूर्व अध्यक्षद्वय मिरा सिग्देल र उषा सिग्देलले संयोजन गरेको तालिममा बिभिन्न आमा समूहका गरि ८५ जना महिलाको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष रत्ना सिग्देलले अध्यक्षता गरेको कार्यक्रमको संचालन सचिव सुचित्रा सिग्देलले गरेकि थिइन्। अध्यक्ष सिग्देलले स्थानीय महिलाहरूमा २ दिन मै नेतृत्व क्षमताको विकास हुँदै गएको देखिनु उत्साहजनक कुरा भएको बताउँदै यस्ता तालिमहरूले व्यवहारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेकी थिइन्।
सामाजिक विकास कार्यालय कास्की गण्डकी प्रदेशको सहयोगमा आयोजित तालिममा सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले सहजकर्ता भएर सहभागी महिलाहरुलाई प्रभावकारी संचार, नेतृत्व शैली/गुण, निर्णय क्षमता, आत्मविश्वास अभिवृद्धि लगायतका विषयमा प्रशिक्षण दिएका थिए। श्रेष्ठले नेतृत्व भनेको संस्थाको अध्यक्ष पदाधिकारी हुनु मात्र नभई प्रभावकारी संवाद, आत्मविश्वास, समानुभूति, अभिभावकत्व, समन्वय, समयानुकुल अपडेट/अपग्रेड, समूह निर्माण, अभिप्रेणा र सही निर्णय लिने क्षमताको संयोजन भएको बताएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।