
पोखरा । नेपाली संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्व गायक रामभक्त जोजिजु र गायिका इतु जोजिजुलाई वि.सं. २०८१ को छिन्नलता पुरस्कार प्रदान गरिने भएको छ। ‘छिन्नलता गीत पुरस्कार गुठी’को हालै सम्पन्न साधारणसभाले उक्त निर्णय गरेको हो। गुठीका अध्यक्ष प्राध्यापक डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकले यस वर्षको पुरस्कार विजेताहरू घोषणा गरेको हो।
साथै, यस वर्षको छिन्नलता गीत पुरस्कार गीत रचना तर्फ चर्चित गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिनेछ भने संगीत तर्फ सङ्गीतकार आभास (अच्युत फुयाल) सम्मानित हुने भएका छन्।
यस्तै, युवा प्रतिभा पुरस्कार गायक तथा सङ्गीतकार एस.डि. योगीलाई २०८१ सालको लोकप्रिय गीत ‘रुकुममै कोट’ का लागि स्वर तथा सङ्गीतमा उत्कृष्ट योगदान दिएकामा प्रदान गरिने निर्णय गरिएको छ।
वि.सं. २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशी १ लाख रुपैयाँ र युवा प्रतिभा पुरस्कारको राशी ५० हजार रुपैयाँ तोकिएको छ।
छिन्नलता पुरस्कार गुठीका संस्थापक तथा वरिष्ठ गीतकार स्व. रमोलादेवी शाह “छिन्नलता”को जन्ममिति पारेर प्रत्येक वर्ष प्रदान गरिँदै आएको यस पुरस्कारको वितरण समारोह २०८२ साल असार २२ गतेका दिन, हरिशयनी एकादशीको अवसरमा विशेष समारोहका बीच काठमाडौँमा आयोजना गरिने गुठीले जनाएको छ।
नेपाली गीतसंगीत क्षेत्रमा दीर्घ योगदान पुर्याउने स्रष्टाहरूको सम्मानस्वरूप प्रदान गरिने यो पुरस्कारले साङ्गीतिक प्रतिभाहरूको मनोबल बढाउने विश्वास लिइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।