लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्नेमा वक्ताहरुको जोड


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८२ मा प्रकाशित




गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । १९औँ लोकतन्त्र दिवसका अवसरमा आज आयोजित ‘लोकतन्त्रको सवाल, चुनौती र सवलीकरण’ विषयक अन्तरसम्वादमा उनीहरुले लोकतन्त्र प्राप्त गरेर मात्र नहुने त्यो जीवन पद्धति, व्यवहार र आचरणमा झल्कनुपर्ने बताए ।

गैरसरकारी संस्था महासङ्घ, गण्डकीका पूर्वअध्यक्ष रामप्रसाद सुवेदीले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दल र नागरिक समाज एकजुट हुनुपर्ने धारणा राखे । “प्रभावकारी सेवा प्रवाह, संस्थागत संरचना विकास, पारदर्शी र जवाफदेही शासन सञ्चालनले लोकतन्त्रलाई सुदृढ पार्छ”, उनले भने, “राजनीतिक दल सच्चिन तयार रहनुपर्छ, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, अराजकतालाई लोकतन्त्रले माफ गर्दैन ।”

जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति, कास्कीका अध्यक्ष शेखर गौतमले लोकतन्त्र वंशका आधारमा नभइ कर्म र प्रतिस्पर्धाबाट शासन गर्ने व्यवस्था भएको बताए । लोकतन्त्रको विकल्प अझ सबल र सुदृढ लोकतन्त्र रहेको उनको भनाइ छ ।

“अहिलेको व्यवस्थामा पनि स्वाभाविक रूपमा गुनासा र असन्तुष्टी छन्, तिनका समाधानका लागि राजनीतिक दल र राज्य संयन्त्र जवाफदेही बन्नैपर्छ, दलले आफ्नो चरित्र र आचरणलाई सुधार्नु जरुरी छ”, अध्यक्ष गौतमले भने, “लोकतान्त्रिक व्यवस्थाको विकल्प फेरि पनि लोकतन्त्र नै हो, अरु कुनै व्यवस्थाको यहाँ गुञ्जायस छैन ।”

गणेशमान सिँह फाउण्डेशनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले राजनीतिक दलमा विकृति मौलाउँदै गएकाले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठेको बताए।

राष्ट्रिय जनमोर्चा, गण्डकीका अध्यक्ष शङ्कर बरालले लोकतन्त्र ल्याउन सङ्घर्ष गरेका राजनीतिक दलले लोकतान्त्रिक आचारण भने देखाउन नसकेको टिप्पणी गरे ।

नेकपा ९एकीकृत समाजवादी०, गण्डकीका अध्यक्ष कृष्ण नेपालीले राजनीतिक दल र राज्य सञ्चालमा लोकतान्त्रिक चरित्र चाहिने बताए ।

नेकपा ९माओवादी केन्द्र०, कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जनयुद्ध र जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए ।

नेकपा ९एमाले०, गण्डकीका अध्यक्ष नवराज शर्माले राजनीतिक दलले सुध्रने आँट गर्नुपर्ने बताए । उनले नागरिकलाई संविधानप्रदत्त अधिकारको प्रत्याभूति दिनु राज्यको दायित्य भएको बताए ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जनताको विश्वासमा लोकतन्त्र टिक्ने भएकाले शासन सञ्चालन पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

लोकतन्त्र दिवसका अवसरमा आजै प्रभातफेरिसमेत गरिएको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।