फ्रि मिडिया नेटवर्क गण्डकी गठन


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०८२ मा प्रकाशित




पोखरा । बहुसरोकारवालाबीच समन्वय, सहकार्य र पारस्परिक जवाफदेहिता अभिवृद्धिका लागि पोखरामा शुक्रबार फ्रि मिडिया नेटवर्क गण्डकी प्रदेश गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक रहने गरी गठित कार्यसमितिमा मानवअधिकार, पत्रकार, अधिवक्ता, सरकारी कर्मचारी, उद्योग व्यवसायी, प्रहरीसम्बद्ध संघसंस्था सदस्य छन् ।

सदस्यमा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, गण्डकी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं. ४ मुक्तिनाथ वाहिनी पोखरा, इन्सेक गण्डकी, गैसस महासंघ गण्डकी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, गण्डकी प्रदेश नीति तथा योजना आयोग, उच्च अदालत बार एसोसिएसन पोखरा, प्रेस काउन्सिल नेपाल, राष्ट्रिय दलित पत्रकार संघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, वरिष्ठ पत्रकार नारायण कार्की छन् । सल्लाहकारमा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ छन् ।

यूरोपियन यूनियनको आर्थिक सहयोग र इन्टरनेशनल अलर्टको प्राविधिक सहयोग तथा नेपाल पत्रकार महासंघ, सञ्चारिक समूह र एकाउन्टिबिलिटी ल्याबको संयुक्त सहकार्यमा संचालित ‘लोकतन्त्रको शुद्धीकरणः नागरिक आवाज, संलग्नता र जवाफदेहिता’ अन्तर्गत पत्रकार महासंघ गण्डकीको आयोजनामा भएको ‘फ्रि मिडिया नेटवर्क गठन तथा प्रदेशस्तरीय संवाद’ कार्यक्रमबीच सो समिति गठन भएको पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले बताए ।

फ्रि मिडिया नेटवर्कले पत्रकारको स्वतन्त्र तथा आत्मनिर्भर भएर लेख्न पाउने कार्यको सुरक्षालाई सहयोग गर्ने, समाचारका विषयवस्तुको छलफल गर्ने, गलत सूचना सम्प्रेषण हुने कार्यमा कमी ल्याउने, मिडियाको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकार तथा प्रदेश एवं स्थानीय सरकारका प्रमुख सरोकारवालाबीच पुलको काम गर्ने लगायत काम गर्ने पत्रकार महासंघ उपाध्यक्ष उमिद वागचन्दले जनाए । साथै, मिडिया अधिकार उल्लंघनका घटनाको निरीक्षण गर्ने र अभिलेखीकरणमा सहयोग गर्छ ।

‘फ्रि मिडिया नेटवर्क गठन तथा प्रदेशस्तरीय संवाद’ कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका सूचना अधिकारी प्रवीण ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी उपसचिव पार्वती लामिछाने, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नीतु गर्तौला, प्रेस काउन्सिल सदस्य केशवशरण लामिछाने, प्रेस स्वतन्त्रता सेनानी नारायण कार्की, नेपाल पत्रकार महासंघ उपाध्यक्षद्वय उमिद वागचन्द र नीतु गर्लौला, महासंघ सचिव रमेश खतिवडा, पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, इन्सेक गण्डकी संयोजक शिव खकुरेल, सशस्त्र प्रहरी बल नं. ४ मुक्तिनाथ वाहिनी पोखराका सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुवेदी, उच्च अदालत बार एसोसिएसन पोखरा अध्यक्ष विष्णुप्रसाद शर्मा, पत्रकार महासंघ निवर्तमान केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्य गीता घिमिरे, राष्ट्रिय दलित पत्रकार संघ गण्डकी अध्यक्ष पूर्ण बिके, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका प्रास चोलाकान्त सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।