पोखरा, बैशाख १४
गण्डकी प्रज्ञा प्रतिष्ठानले अभावैअभावमा कार्यकाल गुजारेको छ । तर अभावका बीच बलियो फाउण्डेसन (जग) बसाउन भने सफल भएको छ । प्रदेश सरकारको आफ्नै सन्तानका रुपमा स्थापित प्रतिष्ठानले आफ्नै खुट्टामा उभिएर भाषा, साहित्य, लोक साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा बलियो जग बसाएको हो ।
पूर्वाधार बिना नै गठीत प्रतिष्ठानले पृथ्वीनारायण क्याम्पस हाताभित्र रहेको सामान्य भवनमा कार्यालय स्थापना गरेको थियो । कुलपती सूर्यबहादुर खड्का बिखर्ची र उपकुलपती गोरे गुरुङको योजना र सदस्य सचिव मनकुमार श्रेष्ठको जुझारुपनको तादात्म्यताले कार्यालयले छुट्टै रौनक पायो । त्यतिमात्र होईन प्रतिष्ठानले नजिकैको सभाहललाई रंगरोगन गरेर चिटिक्क पार्नुका साथै प्रविधिमैत्री र पूर्वाधायुक्त बनाउन सफल भयो । जसले गर्दा अहिले प्रतिष्ठानमार्फत हुने अधिकांश कार्यक्रम सोहि सभाहलमा आयोजना गर्न सम्भव हुन थालेको छ ।
प्रदेश सरकारले गठन गरेका यस्ता धेरै संस्था अहिले कुनै खारेज भइसकेका छन् भने कुनै काम गर्न नसकेर धिकिरधिकिर चलिरहँदा प्रतिष्ठानले भने पहिलो कार्यकालमै पूर्वाधारसँगै अनुसन्धान र कला, संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिन सफल भएको छ । प्रतिष्ठानले गण्डकी प्रदेशमा बसोबास गर्ने गुरुङ, मगर, नेवार, थारु, मगर, ब्राह्मण, दरै, दूरा, तामाङ, माझी, पुन, तामाङ, गन्धर्व, कुमाल, छन्त्याल, थकाली, बराम, जलारी, ईसाई, बुद्दिष्टलगायतका जात, जाति, भाषा, धर्म, कला, संस्कृतिहरुको संरक्षण, संम्वद्र्धन र प्रवद्र्दन गर्ने उद्देश्यले तिनीहरुको अध्ययन, अनुसन्धान गरेर पुस्तक प्रकाशन गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसबाहेक गण्डकी प्रदेशका काव्यिक धरोहरहरु तीर्थ श्रेष्ठ, प्रकाश घिमिरे, प्रजापती पराजुली, प्रा.डा.रविलाल अधिकारी, बुद्धिप्रसाद गुरुङ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल (वात्स्यायन), डा.जगमान गुरुङ, हरिदेवी कोईराला, श्यामसुङ तामाङ, माधव वियोगी, अनुप बराललगायतकाहरुको स्रष्टा बायोग्राफीसमेत तयार गरेर सार्वजनिक गरिएको उनले बताए ।
प्रतिष्ठानले परम्परागत गीत, संगीतहरुको संरक्षणका लागि रेकर्डिङ गर्ने, बाजाहरुको संरक्षणका लागि प्रशिक्षण दिने, भाषा संरक्षणका लागि मातृ भाषा प्रशिक्षण आयोजना गर्ने, विभिन्न जात, जाति विशेषको कार्यशाला गर्ने कार्यपनि गरेको उनको भनाई छ । त्यस्तै, प्रादेशिक ललितकला प्रदर्शनी, प्रज्ञा प्रतिष्ठानहरुको अवलोकन भ्रमण गरेर उनीहरुसँग अन्र्तक्रिया गर्नेदेखि गण्डकी प्रदेशका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यपनि गरेको उनले बताए ।
प्रतिष्ठानले स्रष्टाहरुको हितलाई सर्वोपरी ठानेर उनीहरुको सामुहिक वीमा गरिदिएको सदस्य सचिव श्रेष्ठले जानकारी दिए । ‘त्यस्तै, विभिन्न जाति, समुदायको डकुमेन्ट्री बनाउने, छायाङ्कन गर्ने कार्यपनि गरेका छौं’–उनले भने ।
प्रतिष्ठानले साहित्यप्रति रुची जगाउन साहित्यिक महोत्सव, लोकदोहोरीतर्फ आकर्षित गर्न लोकदोहोरी गीत प्रतियोगिता, चित्रकलातर्फ ध्यानाकृष्ट गर्न पाँच दिने अन्र्तराष्ट्रिय आर्ट कार्यशाला, नाटकतर्फ रुची जगाउन नाटक महोत्सव, फोटो प्रदर्शनीलगायतका कार्यपनि गरेको छ । प्रतिष्ठानले यस बिचमा पुस्तकालय स्थापना गरेर १ हजार ३ सय स्रस्टाका ८ हजार पुस्तकहरु खरिद गरेर पुस्तकालयमा व्यवस्थापन गरेको सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।
पहिलो कार्यकालमै खरो उत्रिएको प्रतिष्ठानले बजेट अभाव भने झेलेको छ । स्थापनाको पहिलो वर्ष छुट्याएको बजेट त्यसपछिको वर्ष भने निरन्तर घट्दै जाँदा काम गर्न कठिनाई भएको सदस्य सचिव श्रेष्ठले बताए । उनका अनुसार पहिलो वर्ष भन्दा दोस्रो वर्ष र दोश्रो वर्ष भन्दा तेस्रो वर्ष २०/२० प्रतिसत बजेट कटौती भयो भने चालु आर्थिक वर्षको अन्तिम तिर आउँदा राजश्व संकलनमा कमी आएपछि थप २५ प्रतिशत कटौतिहुँदा प्रभावकारी उपस्थिति देखाउन चुनौति थपिएको छ । उनले भने,‘दिन प्रतिदिन जिम्मेवारी बढ्दो छ तर बजेट भने घट्दो छ । यसले पक्कैपनि प्रभावकारी उपस्थिति जनाउन चुनौति थपिएको छ ।’ उनले बजेट अभावका बीच सोंचेजति नसकेपनि सकेजति राम्रो काम गर्न सफल भएको बताए । हामीले सकेको जति गरेका छौं,उनले थपे,‘बजेट मागेजति दिने हो भने हामी देशकै नमूना प्रतिष्ठान बनाउन सक्छौं भन्ने विश्वास जागेको छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






