जलवायु परिवर्तनको मार श्रमिक वर्गमा : हरित रोजगारी नीति अबको आवश्यकता


     डा. सुवास अधिकारी    
     वैशाख १८ गते २०८२ मा प्रकाशित




जलवायु परिवर्तनको असर अब केवल हिमनदी पग्लिने वा समुद्री सतह बढ्ने समस्यामा सीमित छैन। यसको प्रत्यक्ष प्रभाव रोजगारी, श्रम, स्वास्थ्य र अर्थतन्त्रमा देखिन थालेको छ, विशेष गरी श्रमिक वर्गमा। गर्मीको लहर, असामान्य वर्षा, चट्याङ, बाढी र सुख्खाजस्ता चरम मौसम घटनाहरूले श्रम बजारमा चुनौती थपिरहेका छन्।

नेपालजस्तो विकासोन्मुख मुलुकमा ठूलो संख्यामा श्रमिकहरू खुला आकाशमुनि वा जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य छन्। मौसममा आएको तीव्र परिवर्तनले उनीहरूको उत्पादन क्षमतामा मात्र नभई, जीवनमा नै प्रभाव पार्न थालेको छ।

हिमाली क्षेत्र तात्दै, जोखिम बढ्दै :

वैज्ञानिक तथ्यांकअनुसार, हिमालय क्षेत्र प्रति दशक ०.६ डिग्री सेल्सियसको दरले तातिरहेको छ, जुन विश्व औसतको तुलनामा झन्डै तीन गुणा बढी हो। तापक्रम वृद्धिका कारण हिमनदीहरू तीव्र रुपमा पग्लिँदै छन्, जसले नदी बहावमा उतारचढाव ल्याएको छ। कृषिमा अनिश्चितता र खानेपानीको स्रोतमा ह्रासले जनजीवनमा थप चुनौती थपिएको छ।

नेपालमा सन् १९७८ देखि २०१९ सम्मको तथ्यांक हेर्दा वार्षिक अधिकतम तापक्रम ०.०६ डिग्री सेल्सियसको दरले बढेको देखिन्छ। तापक्रम वृद्धिले विशेषगरी भौतिक श्रममा आधारित व्यवसायमा संलग्न श्रमिकहरूको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।

रोजगारीका लागि जलवायु परिवर्तन किन महत्वपूर्ण छ?

जलवायु परिवर्तन र वातावरणीय क्षयले आर्थिक वृद्धि र रोजगारीमा गम्भीर चुनौती उत्पन्न गरिरहेका छन्। यी जोखिमहरू भविष्यमा अझ बढ्ने सम्भावना छ।

तर, यदि सही रूपमा व्यवस्थापन गरियो भने, जलवायु कार्यहरूले नयाँ र राम्रो रोजगारी सिर्जना गर्न सक्छन्। जलवायु अनुकूलन र हरितगृह ग्यास उत्सर्जन घटाउने उपायहरूले नयाँ रोजगारीको अवसर दिन्छन् र हालका रोजगारी सुरक्षित राख्न मद्दत गर्छन्।

कार्यस्थलमा सुरक्षाको अभाव:

नेपालमा अधिकांश श्रमिकहरू कृषि, निर्माण, यातायात, घरेलु काम, तथा अनौपचारिक क्षेत्रमा कार्यरत छन्। यी क्षेत्रहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न असहज परिस्थितिबाट जोगिन पर्याप्त सुरक्षा उपायहरू छैनन्। विशेषतः खुला आकाशमुनि कार्य गर्ने श्रमिकहरू गर्मी, धुलो, रासायनिक पदार्थ, र भिज्नेजस्ता जोखिममा रहन्छन्।

विश्व श्रम संगठन (ILO) का अनुसार, अत्यधिक गर्मीका कारण सन् २०३० सम्ममा विश्वभर श्रम उत्पादनमा २५ गिरावट आउन सक्छ, जसले विशेष गरी कृषि र निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई प्रभावित गर्नेछ। नेपालका निर्माण, यातायात, र कृषि क्षेत्रका धेरै श्रमिकहरूले उचित सुरक्षाको पहुँच नपाएका कारण उनीहरू गर्मी, धुलो, रसायन वा दुर्घटनाको जोखिममा छन्। गर्मीको प्रभावले शरीरमा डिहाइड्रेसन, थकान, हिट स्ट्रोक, तथा दीर्घकालीन रोग निम्त्याउन सक्छ। कतिपय अवस्थामा त यसले ज्यानसमेत लिने स्थिति देखिएको छ।अत्यधिक गर्मीका कारण श्रमिकहरूलाई काम गर्न कठिन हुँदै गएको छ। दिनको काम गर्ने समय घटेको छ, जसले सीधै उनीहरूको आम्दानी र उत्पादनमा प्रभाव पारेको छ।

हरित रोजगारी : समाधानको बाटो

यी चुनौतीहरूसँग जुझ्न ूहरित रोजगारीू ९न्चभभल व्यदक बलम झउयिथmभलत० नीति अत्यावश्यक देखिएको छ। यस्तो रोजगारी वातावरणमैत्री, दीगो र सुरक्षित हुन्छ। उदाहरणका लागि, सौर्य ऊर्जा, नवीकरणीय ऊर्जामा आधारित उद्योग, जल संरक्षण, र हरित निर्माण प्रविधिमा आधारित कार्यस्थलहरू रोजगारीको नयाँ सम्भावना हुन्।नेपाल सरकारले वातावरणीय नीति बनाए तापनि, श्रम क्षेत्रमा जलवायु अनुकूलनलाई समेट्ने नीति अझै अपुरो छ। श्रमिक संगठन, ट्रेड युनियन, र सरोकारवालाहरू मिलेर अब सरकारलाई यस्तो नीतिमा समावेश गराउन आवश्यक छ।

के गर्न सकिन्छ?

क) श्रमिकहरूलाई जलवायु परिवर्तनबारे सचेत गराउने ।

ख) काम गर्ने ठाउँमा सुरक्षाका मापदण्ड बलियो बनाउने ।

ग) वातावरणमैत्री प्रविधि प्रयोग गर्न प्रोत्साहन दिने ।

घ) हरित तालिम कार्यक्रम ल्याएर श्रमिकहरूको सीप विकास गर्ने ।

ङ) सरकारसँग मिलेर हरित रोजगारी नीति निर्माणमा सहकार्य गर्ने ।

च) जलवायु परिवर्तनसँग सम्बन्धित रोजगार अनुसन्धानलाई प्राथमिकता दिने ।

नीति सिफारिसहरू :

नेपालमा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमबाट कामदारको सुरक्षा गर्न अझ धेरै अध्ययन र समाधान आवश्यक छ। गर्मीमा काम गर्ने सम्बन्धी राष्ट्रिय नीति फरक–फरक छन्।

डिकार्बोनाइजेसनले ऊर्जा र उद्योगबाहेक अन्य धेरै क्षेत्रमा असर गर्छ। सबैभन्दा प्रभावित क्षेत्रका कामदारलाई सीप विकास र रोजगारी रूपान्तरणमा प्राथमिकता दिनुपर्छ। अन्य क्षेत्रका असरहरूको पनि विस्तृत अध्ययन र सहयोग आवश्यक छ।

हरित रूपान्तरणका कारण कामको गुणस्तरमा हुने प्रभावलाई ध्यान दिनुपर्छ। जलवायु जोखिममा पर्ने कामको गुणस्तर निगरानी गर्न आवश्यक छ, किनभने जलवायु परिवर्तन निरन्तर हुने प्रक्रिया हो। नीति उपायहरूले कामको गुणस्तर सुधार गर्न लक्षित हुनुपर्छ।

उद्योग रणनीति, सीप पूर्वानुमान, र सामाजिक साझेदारसहित तालिमको विकास आवश्यक छ ताकि सीप अभावले रूपान्तरणको गति रोक्न नसकोस्।

हरित, कम-कार्बन अर्थतन्त्रतर्फको रूपान्तरणले वातावरणमैत्री उत्पादनमा नयाँ रोजगारी ल्याउनेछ, तर केही क्षेत्रका कामहरू जोखिममा पर्न सक्छन्, विशेषतः जहाँ दिगो उत्पादनमा रूपान्तरणको विकल्प कम छन्।

निष्कर्ष

जलवायु परिवर्तन अब केवल वैज्ञानिक वा पर्यावरणीय चिन्ता मात्रै रहेन। यो श्रमिकहरूको दैनिक जीवन, आम्दानी, स्वास्थ्य र भविष्यसँग जोडिएको प्रश्न बनेको छ। नेपालजस्तो मुलुकमा, जहाँ श्रमिक वर्ग अर्थतन्त्रको मेरुदण्ड हो, उनीहरूको सुरक्षालाई हेर्नु राष्ट्रिय प्राथमिकता हुनुपर्छ।

यदि हामीले समयमै हरित रोजगारी नीति तयार पार्न सकेनौँ भने, जलवायु परिवर्तनको भार सबैभन्दा पहिले र सबैभन्दा गहिरो गरी श्रमिक वर्गले नै बोक्नेछ।

(वातावरणबिद् डा. अधिकारी नीति तथा योजना आयोग गण्डकी प्रदेशका पूर्व सदस्य हुनुहुन्छ ।)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।