
पोखरा, बैशाख १९
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जनतामा बढेको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजेको आरोप लगाएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘वर्तमान सरकारले भ्रष्टाचारीलाई संरक्षण, सुशासनमा कमी आउने कार्य गर्न थालेपछि जनतामा निराशा बढेको छ । त्यहि निराशालाई दरबारिया शक्तिहरुले उपयोग गरेर यो व्यवस्थाको बिरुद्धमा, गणतन्त्रको बिरुद्धमा क्यास गर्न खोजेको छ ।’
महासचिव गुरुङले सरकारले गणतन्त्रको रक्षा गर्न नसकेको आरोप लगाए । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी त सरकारकै हो,उनले भने,‘तर सरकारले यसको रक्षा गर्न सकेन ।’ उनले गणतन्त्रवादीहरु एकजुट हुन नसकेको सन्देश जाँदापनि पश्चगामी दरबारिया शक्तिहरुले टाउको उठाउन खोजेको उनको भनाई छ । यद्वपी राजावादीहरु ठेगान लागिसकेको उनले दाबी गरे । विभिन्न कारणले जनतामा बढेको निराशा र असन्तुष्टिलाई क्यास गरेर दरबारिया शक्ति भनौं वा राजावादी शक्तिहरुले गणतन्त्रको विरुद्धमा, संविधानको विरुद्धमा जुन क्याम्पेनिङ उनीहरुले चलाईराखेका थिए,उनले थपे,‘त्यो एक हिसाबले असफल भयो ।’ उनले तीनकुने भएको एउटै घटनाले राजावादीको उद्देश्य र अभिष्ट जनतामा पर्दाफास भएकाले पनि उनीहरुको आन्दोलन कमजोर बनेको विश्लेषण सुनाए । फेरी त्यहि र त्यस्तै आन्दोलन अघि बढ्न नसक्ने दाबी गर्दै उनले अगाडि थपे,‘तर सरकारको यो बेथिती र रबैयाका कारण भविष्यमा कुनै न रुपले गणतन्त्रकोबिरुद्ध आवाज उठ्न सक्दैन, प्रहारको प्रयास हुँदैन भन्नचाहिं सकिदैन ।’
महासचिव गुरुङले सरकारकै रबैयाका कारण व्यवस्था र संविधानमाथि प्रहार भइरहेको आरोप लगाए । लोकतन्त्र र गणतन्त्रमाथि समस्या उत्पन्न गर्ने प्रयास भइरहेको भन्दै उनले भने,‘जसरीपनि द्वन्द्व निम्त्याउने र जसरीपनि निशेध गर्ने प्रवृत्ति सरकारमा छ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी, लघुवित्त वा अन्य सबै असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्ने भन्दापनि गिथोल्ने प्रयास गर्दा जनतामा असन्तुष्टि बढेको छ । जसरीपनि आन्दोलनमा लैजान उद्यत गराउने प्रवृत्ति सरकारमा छ ।’ सरकार वार्ता गर्ने, समस्या सुन्ने, सुल्झाउनेतर्फ सरकार नजाँदा असन्तुष्टिको स्वर बढ्दै गएको उनको भनाई छ ।
महासचिव गुरुङले माओवादीले सरकारमा जान हतार नभएको स्पष्ट पारे । सरकारप्रति सत्तारुढ दलहरुमै असन्तुष्टि देखिएको बताउँदै उनले भने,‘माओवादीलाई सरकारमा जान हतार भएर अहिलेको सरकार ढल्ने होईन, माओवादीलाई सरकारमा जाने हतार छैन । बरु सरकार आफ्नै कारण ढल्ने संकेत देखिन्छ । प्रतिपक्ष भन्दा सत्तापक्षमा नै चर्को असन्तुष्टि देखिन्छ । त्यो कांग्रेसमापनि छ र एमालेपनि छ ।’
महासचिव गुरुङले माओवादीप्रति जनताको आशा र अपेक्षा बढेको दाबी गरे । माओवादीले मात्रै सुशासन र समृद्धिको सपना पूरा गर्न सक्छ भन्ने विश्वास जनतामा पलाएको उनको दाबी थियो । प्रेस सेन्टर कास्कीका अध्यक्ष दीनानाथ बरालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको संचालन सचिब सरोज अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।