
पोखरा । पोखरा महानगरपालिका–१६ लामाचौर, बानियाँपथमा अवश्थित जाल्पादेवी सामुदायिक महिला विकास समितिको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित उक्त दुईदिने तालिम चैत्र १७ गते बुधबार र चैत्र १८ गते बिहिबार मिरास् फुटसल हलमा सञ्चालन गरिएको हो। कार्यक्रममा पोखरा–१६ मा सक्रिय विभिन्न आमासमूहका पदाधिकारी तथा सदस्यहरु गरि ८० जनाको सहभागिता रहेको थियो।
तालिममा संचारकर्मि दुर्गा अधिकारीले उद्घोषण तथा भाषण कला, दीपेन्द्र श्रेष्ठले सशक्तिकरण र नेतृत्व बिकास र पत्रकार यदुनाथ बन्जाराले सूचनाको हक बिषयमा प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले प्रशिक्षार्थी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सदैव यस्ता सशक्तिकरणमुखी प्रयासहरूमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । मन्त्री थापाले भने, “पोखरा–१६ स्थित जाल्पादेवी सामुदायिक महिला विकास समितिको आयोजनामा सम्पन्न दुई दिने नेतृत्व विकास तालिमले समुदायमा महिला सशक्तिकरण र नेतृत्व क्षमताको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छु। सक्रिय सहभागिता जनाउनु भएका सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। यस्ता कार्यक्रमहरूले स्थानीय तहमा नेतृत्वदायी क्षमताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।”
समितिकी अध्यक्ष विष्णुमाया बानियाँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव कविता शाही र कोषाध्यक्ष शोभा बानियाँले गरेका थिए ।
सामाजिक बिकास कार्यालय गण्डकी प्रदेशको सहयोगमा भएको तालिममा सहभागीहरूले तालिम अत्यन्तै उपयोगी, प्रेरणादायी तथा व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमले महिलाहरूको आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूलाई सामाजिक नेतृत्वमा थप सक्रिय बनाउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।