नीति एकेडेमीमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम शुभारम्भ


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा–९ को सहकार्यमा वेव डिजाइन एवं डेभलपमेन्ट तालिम आइतबारदेखि सुरु भएको छ । १५ दिनसम्म सञ्चालन हुने तालिममा १५ जना सहभागी छन् । उनीहरुलाई नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायतले तालिम प्रदान गर्नेछन् ।

एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले वर्तमान समयलाई ध्यानमा राखेर आयोजित तालिम निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले वेव डिजाइन तालिमले युवालाई आत्मनिर्भर बनाउने र रोजगारीको नयाँ ढोका खोल्ने, व्यवसायीलाई आफ्नो व्यापार प्रवद्र्धन गर्न सघाउने विश्वास व्यक्त गरे ।

उनले आफैलाई उदाहरण दिँदै भने, ‘मसँग आइफोन छ तर सामान्य कामबाहेक मैले अरु चलाउनै जानेको छैन, अब यससम्बन्धमा हामी जानकार हुन आवश्यक छ ।’

कार्यक्रमका अध्यक्षसमेत रहेका पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको बताए ।

उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकासकर्ताको जग बन्नेछन् ।”

डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बनाउन पनि तालिम महत्वपूर्ण हुने वडाध्यक्ष बरालको विश्वास छ ।
नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले वर्तमान समयमा वेव डिजमाइन तालिम जो कसैलाई आवश्यक पर्ने भएकाले आफूहरुले वडासँग मिलेर तालिम आयोजना गरेको बताए । तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै उनले तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाउने र व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–८ का वडासदस्य गोविन्द बराल, वडासचिव झंकनाथ पौडेल, नीति एकेडेमीका प्रमुख प्रशिक्षक डम्मर खडायत, पत्रकार हरि पन्तलगायतले बोलेका थिए ।

नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ । हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।