
पोखरा । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ मा “तरबुजा मेला २०८२” आयोजना हुने भएको छ। यही जेठ १ गते वडा कार्यालय परिसरमा हुने मेलाको तयारी पूरा भएको आयोजकहरूले जनाएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष किरण बरालले स्थानीय तहको उम्मेदवारीका क्रममा अघि सारेको नारालाई व्यवहारमा उतार्दै मेलाको आयोजना गरिएको जानकारी दिए । बरालले कृषकहरूको मेहनत र पसिनाको फललाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको बताएका छन् ।
वडा स्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापनमा र पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहकार्यमा सञ्चालन हुन लागेको मेलामा विभिन्न आकर्षणहरू रहनेछन्। मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान–प्रदान, सफल किसानका अनुभव साझा, परिकार प्रदर्शनी तथा बाली उपचार शिविरसमेत समावेश गरिएको छ।
मेलाबाट कृषकहरूलाई व्यवसायिक उत्पादनमा प्रोत्साहन हुने विश्वास व्यक्त गर्दै अध्यक्ष बरालले स्थानीयबासीलाई मेलामा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।