पोखरा महानगरका कर्मचारी र सर्बेश्वर मार्गका ब्यबसायी कुट्ने वडाध्यक्ष पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिकाका कर्मचारी तथा व्यवसायी माथि कुटपीट गर्ने पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । महानगरपालिकाका कर्मचारी ईश्वर प्रसाद पाेखरेल र सर्बेश्वर मार्गका ब्यबसायी लेखनाथ सुबेदी माथी कुटपिट गर्ने वडाध्यक्ष पराजुलीलाई प्रहरीले आज पक्राउ गरेको हो । उनी बिरुद्ध किटानी जाहेरी परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर पाण्डेले जानकारी दिए ।

डीएसपी पाण्डेका अनुसार कास्की प्रहरीले बुधबार अपरान्ह ४ बजे पोखरा १६, ढिकीडाँडाबाट उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष पराजुली विरुद्ध उनकै टोल पोखरा ४, सर्वेश्वर मार्गमार्गका व्यवसायी लेखनाथ सुवेदी तथा पोखरा महानगरका कर्मचारी ईश्वरी पौडेलमाथि हातपात गरेको उजुरी परेको थियो ।

मंगलबार दिउसो सुवेदी कस्मेटिक स्टोरका संचालक लेखनाथ सुवेदीलाई उनकै पसल नजिक र त्यस अगाडि महानगर पालिकाका प्रशासकीय अधिकृत (अधिकृत सातौं) इश्वरी पोखरेललाई प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँकै कार्यकक्षमा वडाध्यक्ष पराजुलीले कुटपिट गरेका थिए ।

वडाध्यक्ष पराजुलीले प्रशासकीय अधिकृत पोखरेलमाथि हातपात गरेको भन्दै स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी युनियनले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन्। चार वटै संगठनका अध्यक्षद्वारा जारी विज्ञप्तिमा २४ घण्टाभित्र कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरुले आक्रमणको विरोधमा बुधबार महानगरपालिका र महानगरका सबै वडाको दैनिक कामसमेत रोकेका थिए । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।