कास्कीको रुपामा तीन दिने मोहोरिया मेला हुने


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०८२ मा प्रकाशित




कास्कीको रुपागाउँपालिका स्थित मोहोरियामा २५६९ औं बुद्ध जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । “खेलकुदद्वारा स्वास्थ्यमा सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर थापाले जानकारी दिए ।

भलिबलमा विजेताले ४० हजार, उपविजेतालाई २५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । विधागत रुपमा पनि उत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा सहभागी हुन ३ हजार दर्ता शुल्क तोकिएको थापाले बताए । तीन दिनसम्म चल्ने मेलामा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, मोहोरिया होम स्टेको प्रवद्र्धन गरिने थापाको भनाइ छ ।

क्लबले विगत २५ वर्षदेखि बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ । क्लबले आयोजना गरेको भलिबलमा सहभागी भएका खेलाडी इम राना राष्ट्रिय भलिबलको कप्तानसमेत हुन सफल भएका छन् । क्लबले भलिबलको खेलाडी उत्पादनमा विशेष योगदान गर्दै आएको छ ।

कार्यक्रम सन्चालनको लागी स्थानीय संघ संस्था, बैदेशिक रोजगारीमा रहेका गाउका दाजुभाइहरू तथा शुभचिन्तकहरू संग सहयोग आह्वान गर्ने छ । यस कार्यक्रममा क्लबले ३ लाख रकम संकलन गर्ने २ लाखमा कार्यक्रम सम्पन्न गर्ने र १ लाख बचत गर्ने अनुमान पनि गरेको छ । उक्त बचत रकम क्लबले गर्ने सामाजिक कार्यमा नै खर्च गर्ने पनि थापाले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।