
श्रीषा रायमाझी/श्रृष्टि भट्ट
पोखरा, बैशाख २६
पोखरा स्पोर्टस अवार्डमा भलिबलका विश्वास अधिकारी र अरुणा शाही सर्वोत्कृष्ट वर्ष खेलाडी भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरा इभेन्ट सेन्टरमा भएको नवौं संस्करणको पोखरा स्पोटर््स अवार्ड–२०८१ मा पुरुषतर्फ विश्वास र महिलातर्फ अरुणा सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् ।

गण्डकी प्रदेशको नवलपुर घर भएका विश्वासले मनोनयनमा परेका अन्य खेलाडीहरु प्रदीप खड्का (टेनिस) र सुमित श्रेष्ठ (फुटबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष)को अवार्ड जितेका हुन् ।

त्यस्तै, भलिबलकै राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले नोमिनेसनमा परेका आईटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङलाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधाको अवार्ड जितिन् । पोखरा स्पोर्टस अवार्डमा अरुणाको यो ह्याट्रिक अवार्ड हो । यसअघि पोखरा स्पोर्टस अवार्ड दुईपटक जितिसकेकी उनको यो तेश्रो अवार्ड हो ।
सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) र सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधामा अवार्ड प्राप्त गरेका विश्वास र अरुणाले ट्रफीसहित टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर एक÷एक थान प्राप्त गरे ।
त्यस्तै, सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडीको अवार्ड रचना चौधरी (क्रिकेट)ले जितिन् । उनले भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्कीलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
सर्वोत्कृष्ट वर्ष प्रशिक्षक विधामा फुटबलका राजेन्द्र तामाङले अवार्ड जिते । फुटबलको नेपाली महिला राष्ट्रिय टिमका कप्तान उनले टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
सर्वोत्कृष्ट वर्ष खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले जित्यो भने वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड आदर्श समाज दैनिक पोखराका कार्यकारी सम्पादक बिजय नेपालले जिते ।

सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडी, सर्वोत्कृष्ट वर्ष प्रशिक्षक र सर्वोत्कृष्ट वर्ष खेल संस्था क्लवतर्फको अवार्ड प्राप्त गर्ने सबैले नगद ३५÷३५ हजारसहित ट्रफी प्राप्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विका, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, मञ्चका अध्यक्ष एमबी आस्था, अवार्डका संस्थापक सन्देश श्रेष्ठ, मञ्चका पूर्व अध्यक्षहरु दीननाथ बराल, एकराज गिरी, बिनोद लामिछाने, केशव पाठक, टेलजी कम्पनीका सञ्जीव शिल्पकार लगायतले अवार्ड वितरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।