
राधिका गहतराज/सिता परियार
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन शुटिङकी भगवती खत्री केसीलाई अर्पण गरिएको छ । उनलाई शुक्रबार भव्य रुपमा आयोजित अवार्ड कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित लाईफटाईम अचिभमेन्ट अवार्ड अर्पण गरिएको हो ।
बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भई विभिन्न पदक जितेकी खेलाडी हुन् । खत्री नवौं राष्ट्रिय प्रतियोगितामा प्रथम, १२औं राष्ट्रिय शुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला शुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाचौं राष्ट्रिय प्रतियोगितामा द्धितीय र १२औं राष्ट्रिय शुटिङ प्रतियोगिताको बेस्ट प्लेयर तथा उपाधि बिजेता हुन् ।
त्यस्तै अन्तर्राष्ट्रिय तर्फ सिड्नीमा भएको सत्ताइसौं ओलम्पिक गेममा सहभागि उनले राष्ट्रिय कीर्तिमानी समेत कायम गरेकी थिइन् । विभिन्न ७ वटा संस्करणका एसियन गेममा सहभागिलगाएत साफ च्याम्पियन र अन्तर्राराष्ट्रिय शुटिङ प्रतियोगितामा सहभागि खेलाडी हुन् । खत्रीले गोरखा दक्षिण बाहु मानपदवी प्राप्त गरिसकेकी छिन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन २०६३ बाट उत्कृष्ट खेलाडीको रुपमा घोषणा भइसकेकी छिन् । गण्डकी प्रदेशमा शुटिङ प्रशिक्षकको रुपमा २०५१ सालदेखि खेलाडीलाई निशुल्क प्रशिक्षण समेत गराउँदै आएकी छिन् ।
यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा। वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्लले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।