
पोखरा । कवि ईश्वरमणि अधिकारीद्वारा लिखित नवीनतम काव्यकृति सानु साथी शुक्रबार पोखरामा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित कृतिको बरिष्ठ साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, सरस्वती प्रतिक्षा, रमेश श्रेष्ठ,, लक्ष्मण थापा, विश्लेषक विश्व सिग्देल, कवि स्वयं ईश्वरमणि अधिकारी र उनकी सुपुत्री डा. अस्मिता अधिकारीले एकसाथ सार्वजनिक गरेका थिए ।
विश्लेषक विश्व सिग्देलले सानु साथी मा समेटिएका कविताहरू पूर्वीय दर्शनको गहिराइ बोकेका र न्यूनतम शब्द प्रयोगमा गहन अनुभूति सम्प्रेषण गर्न सक्ने शैलीमा प्रस्तुत भएको बताउँदै कविलाई ‘बौद्धिक तथा आध्यात्मिक चेतनाका संवाहक’ को रूपमा अर्थ्याए। उनले यो कृति नेपाली समकालीन कविता क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको टिप्पणी गरे।
कार्यक्रममा कवि अमृत छेत्रीले ‘सम्बोधिका’ कविता वाचन गरे भने साहित्यकार जीवनसागर भण्डारीले ‘इच्छापत्र’ कविता प्रस्तुत गरे। साहित्यकार सरस्वती प्रतिक्षाले ‘आमा: विश्वविद्यालय’ वाचन गर्दै सानु साथी अधिकारीका अघिल्ला कृतिहरूभन्दा अझ सशक्त र हृदयस्पर्शी भएको धारणा राखिन्।
विशेष प्रसंगमा अधिकारीकी छोरी, अनुसन्धान वैज्ञानिक डा. अस्मिता अधिकारीले आफ्ना पितालाई जीवनका ‘रोलमोडल र रियल हिरो’ को रूपमा चिनाउँदै, उनको संघर्ष, विद्वत्ता र साहित्यिक समर्पणको चर्चा गरेकी थिइन्। कविले कृति आफ्नो सानो साथी देव्यांशी र छोरी अस्लामितालाई समर्पित गर्दै ‘सानु साथी’ तथा ‘छोरीका नाममा’ शीर्षकका कविता वाचन गरे।
साहित्यकार तीर्थ श्रेष्ठले अधिकारीका हरेक कृति समयको परीक्षा पार गरेर आउने परिपक्वता र बौद्धिक गहिराइ बोकेको भन्दै उनलाई समकालीन नेपाली कविताको ‘सारथी’को रूपमा सम्बोधन गरे। बरिष्ठ साहित्यकार सरूभक्तले कवि अधिकारी, रिता अधिकारी ऋतु र डा. अस्मिता अधिकारी तीनै जनाको साहित्यिक योगदानको प्रशंसा गर्दै सानु साथी लाई नेपाली साहित्यको एउटा मूल्यवान उपहारका रूपमा व्याख्या गरे।
कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाको अध्यक्षता तथा सचिव एमडी काफ्लेले सञ्चालन गरेका थिए। साहित्य संयोजक केशु शर्माले स्वागत मन्तव्य दिएकी थिइन् भने धन्यवाद ज्ञापन अध्यक्ष थापाले गर्दै अधिकारीका कविताले पाठकलाई ध्यानस्थ गराउने शक्ति रहेको बताए।
सानु साथी को लोकार्पणसँगै नेपाली समकालीन कवितामा एक नवीन स्वर थपिएको सहभागीहरूको धारणा रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।