युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्वपूर्णः प्रदेश प्रमुख भट्ट


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८२ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्वपूर्ण रहेको बताएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नंं. ६ मा आयोजित तेस्रो रनिङ शिल्ड प्रतियोगिता शुुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले यस्ता प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्ने बताए ।

‘खेलकुदमा युवा सहभागिताले शारीरिकसँगै सामाजिक रूपमा सबल बनाउँदछ । सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उनले भने –‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’

खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको प्रदेश प्रमुख भट्टले उल्लेख गरे । ‘खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भने – ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ ।’

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनुपर्ने उनको भनाई छ । भट्टले खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको बताए ।

प्रदेश प्रमुख भट्टले भने – ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादनमा खेलकुद सहयोगसिद्ध छ ।’

माछापुच्छ्रे गाउँपालिका वडा नं.६ का अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा माछापुच्छ्रे गाउँपालिकाका प्रशासकीय अधिकृत केशव सुवेदीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सन्देश अधिकारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।