बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः गण्डकी प्रदेश प्रमुख भट्ट


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०८२ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गेरेका छन ।

सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपाली धर्तीमा जन्म लिनुभएका महान् पुरुष गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको उल्लेख गरे ।

‘विश्वमाझ देखिएका विभिन्न युद्ध, हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको छ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ ।’ उनले भने ।

बुद्धले मानव जगतलाई एक सुन्दर, अनुशासित, समानता, अहिंसा, शान्ति र सम्मानित समाजमा अग्रसर रहन मार्गदर्शन गरेको उल्लेख गर्दै उनले उपदेशलाई आत्मसात् गर्न सकिए विश्वमा भातृत्व, बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने विश्वास व्यक्त गरे ।

शुभकामना सन्देशमा भनिएको छ – ‘उभौली जस्ता चाडपर्वहरूले मौलिक संस्कृतिको जगेर्ना गर्दै सबैलाई सामाजिक सद्भाव र मेलमिलापको सन्देश दिएको छ । नेपालीहरूको एकतामा उर्जा थप्न र सामाजिक बन्धुत्वको अभिवृद्धि गर्न यस्ता पर्वहरू अपरिहार्य छ । बुद्धजयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।