
पोखरा । कास्की जिल्लाका ११ वटा विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समिति का सदस्यहरू गरी १६ जना सहभागीबीच दुई दिने विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा योजनाू सम्बन्धी तालिम सम्पन्न भएको छ।
मादी गाउँपालिका (५ विद्यालय), अन्नपूर्ण गाउँपालिका (४ विद्यालय) र माछापुच्छ्रे गाउँपालिका (२ विद्यालय) का विद्यालयहरूबाट सहभागी भएका थिए । तालिम नौलो घुम्ती नेपालले गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा बाह्य प्रशिक्षकको सहजीकरणमा बैशाख २८ र २९ गते पोखरामा आयोजना गरिएको थियो ।
तालिमको उद्देश्य विद्यालय र समुदायलाई असर गर्ने सामान्य विपद् जोखिम पहिचान गरी विद्यालयस्तरमा पूर्वतयारी र प्रतिकार्यमा उनीहरूको भूमिकाबारे स्पष्टता दिनु रहेको थियो। तालिममा सामान्य विद्यालय जोखिमहरू, संरचना र विद्यालय सुरक्षा, विद्यालयमा पूर्वतयारीका उपायहरू, विद्यालय सुरक्षा योजना निर्माणका अवयवहरू, कृतिम घटना अभ्यास लगायतका विषयहरूमा विस्तृत छलफल गरिएको थियो ।
तालिमबाट प्राप्त ज्ञान र सीपका आधारमा सहभागी विद्यालयहरूले अब राष्ट्रिय विपद् व्यवस्थापन र शिक्षा सुरक्षा सम्बन्धी मार्गनिर्देशनसँग मिल्दोजुल्दो विद्यालय सुरक्षा योजना तयार पार्ने वा संशोधन गर्ने तयारी गरेका छन् । यसै क्रममा सहभागी मध्येका एक श्री सङ्गम माध्यमिक विद्यालय, अन्नपूर्ण गाउँपालिका–६, कास्कीका सह–प्राध्यापक टङ्कप्रसाद देवकोटाले तालिममा सहभागी सम्पूर्ण विद्यालयहरूले अब विद्यालय सुरक्षा तथा विपद् जोखिम न्यूनीकरण योजना तयार गरी विद्यालय सुधार योजनामा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले बालबालिकालाई सुरक्षित र सहयोगी वातावरणमा शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताएका छन्। त्यसै गरी गुड नेबर्स इन्टरनेसनल नेपालका पर्वत क्लस्टर संयोजक रंजित कुमार चौधरीले विद्यालय विपद् सुरक्षा योजना निर्माणका लागि आवश्यक सहजिकरणका लागि सदैव समुदाय तथा विद्यालयसँग सहकार्य गर्ने कुरा व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।