
श्रृष्टि भट्ट/सिता परियार
पोखरा, जेठ ३
मानवमुक्त सडक बनाउन मानव सेवा आश्रमले सरोकारवालाहरुको प्रतिबद्धता खोजेको छ । नेपालभर २० जिल्लामा २६ वटा आश्रम बनाएर १ हजार ८ सय जनालाई आश्रय दिइरहेको आश्रमले शनिबार पोखरामा ‘सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया’ कार्यक्रम गरेर मानवमुक्त सडक बनाउन उद्धार र राहतमा सरोकारवालाहरुको प्रतिबद्धता मागेको हो । गण्डकी प्रदेशमा कास्की, बागलुङ, लमजुङ र गोरखामा आश्रम सञ्चालन गरिरहेको आश्रमले आश्रितका लागि आवश्यक पूर्वाधार निर्माणमा आवश्यक लगानी अभाव भएपछि सहयोगको अपेक्षासहित उद्दार र राहतमा प्रतिबद्धता खोजेको मानव सेवा आश्रम कास्कीका संयोजक तथा केन्द्रीय सदस्य सदीश पुनले बताए । यो हामीले अभियान सञ्चालन गरेपनि सरोकारवालाहरु सबैको साझा दायित्व र कर्तव्य हो,उनले भने,‘त्यसमा सबै जिम्मेवार होस र अपनत्व लियोस् भनेर प्रतिबद्धता खोजेका हौं ।’
कार्यक्रममा २०६९ साल भदौ १३ गते स्थापित मानव सेवा आश्रमले हालसम्म ११ हजार सडकापेक्षीहरु लाभान्वित भइसकेको र हाल १ हजार ८ सय जना आश्रित रहेको यसका परिकल्पनाकार रामजी अधिकारीले जानकारी दिए । उनले भने,‘मानवता र मानव सेवाका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं । यो अभियान देशैभर बिस्तारको क्रममै छ ।’
गण्डकी प्रदेशमा २०७४ साल चैत १७ गतेदेखि छोरेपाटनमा घर भाडामा लिएर शुरु गरेको आश्रम अहिले हेमजामा आफ्नै भवन निर्माण गरेर सेवा दिइरहेको केन्द्रीय सदस्य तथा कास्की संयोजक सदीश पुनले जानकारी दिए । उनका अनुसार हाल पोखरा–२५ हेमजामा १४० जना पुरुष र छोरेपाटनमा ७७ जना महिला र १३ जना बालबालिकासहित ९० जना गरेर कास्कीमा २३० जना आश्रित रहेका छन् ।
त्यस्तै, बागलुङमा ६२ जना महिला र पुरुष, गोरखामा ३८ जना बालबालिका र लमजुङमा २८ जना महिला र पुरुष रहेको उनले जानकारी दिए । गण्डकीमा हालसम्म १ हजार ३ सय जना सडकापेक्षीहरुहरुको उद्दार गरिसकेको भएपनि केहिको मृत्यू भएको र केहि पारिवारिक पुर्नमिलनपछि घर फर्किएको उनले बताए ।
आश्रितलाई सेवा तथा नयालाई उद्दार र राहतका लागि बजेट भने अभाव भएकाले सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको कास्की आश्रमको भवन निर्माण समितिका अध्यक्ष धर्मराज बास्तोलाले बताए । उनले हेमजामा निर्माणाधिन आश्रमको भवनका लागि करीब १ करोड रुपैयाँ रकम आवश्यक रहेको बताए । त्यसबाहेक गोरखा, लमजुङ र बागलुङका आश्रमको भवन निर्माणका लागिपनि बजेट अभाव रहेको उनको भनाई छ । उनले भने,‘पूर्वाधार निर्माणमै बजेट अपुग छ । त्यसबाहेक दैनिक सेवाका लागिपनि खर्च पुगेको छैन ।’ अहिले ६० प्रतिशत खर्च सर्वसाधारणबाट र ४० प्रतिशत खर्च सरकारबाट प्राप्त भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तीनै तहको सरकारको तर्फबाट मानव सेवा आश्रमले सेवा दिइरहेको बताए । उनले आश्रम सञ्चालनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै उनले भने,‘तीनै तहको सरकार यसमा जिम्मेवार भएर सहयोग गर्न तयार छ ।’
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले असहायः गरीब, निमुखाको सेवामा समर्पित मानव सेवा आश्रमले उदाहरणीय कार्य गरेको बताए । पोखरा महानगर यस कार्यको प्रशंसा गर्दछ,उनले भने,‘राज्यले गर्ने कार्य तपाईंहरुले गरिरहनु भएको छ । यस कार्यमा महानगर आवश्यक सहयोग गर्न तयार छ ।’
राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री पञ्चराम गुरुङले सडकापेक्षीको ब्यबस्थापनका लागि राज्य जिम्मेवार बन्नुपर्ने बताए । उनले सबैले हातेमालो गर्नुपर्ने बताउँदै भने,‘आवश्यक बजेट जुटाउन चन्दा संकलन गर्न होस् वा गण्डकी सरकारलाई झक्झकाउन म अग्र भागमा रहेर काम गर्न तयार छु ।’
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले मानव सेवा आश्रमले मानव सेवाको काम गरिरहेको बताए । जुन काम राज्यले गर्नुपर्दथ्यो त्यो काम आज मानव सेवा आश्रमले गरिरहेको छ,उनले अगाडि थपे,‘जसको घरबार छैन, गाँस, बास र कपास छैन, माया पाएको छैन उसलाई राज्यले अभिभावकत्व दिनुपर्दथ्यो तर राज्यले गर्न नसकेको काम मानव सेवा आश्रमले गरिरहेको छ । यसका लागि आश्रमलाई धेरै धेरै धन्यवाद ।’ उनले आश्रमको पूर्वाधार निर्माणसँगै आत्मनिर्भर बनाउनका अन्नपूर्ण गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियालगायतलेपनि आश्रम सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज सन्तोष निरौलाले सडकमा आश्रितहरुको उद्दार र राहतका लागि प्रहरी अहोरात्र खट्न तयार रहेको बताए ।
सामाजिक विकास कार्यालयका प्रमुख राजेन्द्र पौडेलले राज्यले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरिरहेकाले यसलाई सबैले सहयोग गर्नुपर्ने बताए । त्यसैले राज्यलेपनि सहयोग गर्नुपर्छ,उनले भने,‘राज्य जिम्मेवार बन्नुपर्छ । हामीलेपनि सक्दो सहयोग गरौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।