पोखरा, जेठ ९
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पताल (मेन्टल हस्पिटल) गएर स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् । युवा संघको महाधिवेशनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी र प्रचण्डको अभियान राजावादीसँग मिल्ने अभियान भएको टिप्पणीबारे प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । प्रेस सेन्टर गण्डकी प्रदेशले शुक्रबार साँझ पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको नाम नलिई भने,‘म सुन्दै छु राजासँग मिल्ने अभियान हो प्रचण्ड भनेर प्रधानमन्त्रीले बोले रे । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्री जिलाई एकपटक मेन्टल हस्पिटल गएर जचाउँन सल्लाह दिन चाहन्छु ।’
अध्यक्ष प्रचण्डले राजावादीको गतिविधि जति बढेपनि सरकार मुकदर्शक बनेको आरोप लगाए । यसले यथास्थितिवादी र प्रतिगमनवादीबीच कहिं न कहिं साँठगाँठ भएको हो कि भन्ने आशंकासमेत बढेको उनले टिप्पणी गरे । राजावादीले गरेका हर्कतहरुको भण्डाफोर गर्ने, विरोध गर्ने, त्यसबिरुद्ध जनमत तयार गर्ने काममा सरकार बिलकुल गैरजिम्मेवार देखाप¥यो,उनले भने,‘सरकार मुकदर्शक बनेपछि बाध्य भएर हामीले राजावादीको प्रतिगमन र वितण्डाबिरुद्ध काठमाडौंमा चैत १५ गते एकलाख भन्दा बढी जनता उतारेर प्रतिवाद ग¥यौं ।’ तर माओवादीको प्रतिवादका कारण राजावादी ठेगान लागेपनि त्यसले गर्दा सरकारलाई भने राहत मिलेको बताए । उनले भने,‘माओवादीको प्रतिवादले भ्रष्टाचारी सरकारलाई राहत मिलेको छ ।’
अध्यक्ष प्रचण्डले मध्य पहाडी पुष्पलाल लोकमार्गको जनजागर अभियानको पहिलो चरण पोखरा आएर शनिबार सकिने जानकारी दिए । शनिबार पोखरा चिप्लेढुंगामा जनसभा गरेपछि पहिलो चरणको अभियान सकिनेछ,उनले भने,‘दोश्रो चरण पछि सञ्चालन गरिनेछ ।’ प्रचण्डले पहिलो चरणको अभियानका क्रममा पार्टी, संघसंस्था तथा जनताले दिएका सुझावहरु सरकारलाई शनिबार बुझाईने उनले बताए । अभियानका क्रममा प्राप्त ज्ञापनहरु, मागहरु, विकासका अजेण्डाहरु, बजेटमा पारिदिनु भनेर गरिएका सम्पूर्ण आग्रहहरु शनिबार बेलुका सरकारलाई बुझाउँछौं,उनले भने,‘बुझाउने क्रममा जनताका समस्या र गम्भीरताबारे बुझाउने प्रयास गर्छौं । त्यति गर्दापनि बजेटले सम्बोधन गरेन भने त्यसको परिणाम अझ गम्भीर हुनसक्छ भनेर चेतावनी हदसम्म हामी जाँदैछौं ।’
यसअघि कास्की र पर्वतको सिमानामा पर्ने नयापुलमा कास्केली माओवादी नेता तथा कार्यकर्ताहरुले प्रचण्डसहितका नेताहरुलाई स्वागत गरेका थिए । उनीहरुलाई नागडाँडा, हेमजाको सुईखेत, मिलनचोक, पोखरा–१ हरिचोकलगायतका ठाउँमा स्थानियले स्वागत गरेका थिए । ती ठाउँहरुमा जनसम्वादसमेत भएको माओवादी कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट…






