एमालेले लेखा समिति नछाडेपछि माओवादीले सामाजिक विकास तथा कृषि समितिमै चित्त बुझायो, दमयन्ती बनिन् सभापती


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०८२ मा प्रकाशित




पोखरा, जेठ २३

नेकपा माओवादी केन्द्रकी दमयन्ती रुचाल गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको सभापति बनेकी छन् । यसअघिका सभापती फणिन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि नेतृत्वविहीन् बनेको सभापतीमा विहीबार उम्मेदवारी दर्ता र शुक्रबार निर्वाचन कार्यतालिका थियो । तर समयसीमा भित्र माओवादीकी रुचालको मात्रै उम्मेदवारी परेपछि उनी सभापतीमा निर्विरोध निर्वाचित भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ ।

माओवादीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा लेखा समिति सभापती मागेपनि सत्तारुढ दल एमाले लेखा समिति सभापती छाड्न सहमत नभएपछि अलमलको स्थिति बनेको थियो । बारम्बार प्रयास गर्दापनि एमालेले विशेषाधिकार समिति बनाएर त्यसको सभापती दिएमात्रै लेखा समिति छाड्ने अडान राख्यो । तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समिति थपेर सुविधा थप्दा जनतामा नकारात्मक सन्देश जाने भन्दै विशेषाधिकार समिति थप्न असहमत भएपछि एमाले लेखा समिति नछाड्नेमा टसकोमस भएन ।

कसैगरे सहमति नजुटेपछि माओवादीले सामाजिक विकास तथा कृषि समिति सभापतीमै चित्त बुझाएको हो । जसको कारण प्रतिपक्षीले पाउने लेखा समितिमा सत्तारुढ दलको हालीमुहाली कायम भयो । यसले चेक एण्ड व्यालेन्समा असर पुग्ने बताईन्छ ।

प्रदेश सभामा सार्वजनिक लेखा समितिको सभापतीमा सत्तारुढ एमालेका सुधीर पौडेल छन् । त्यस्तै आर्थिक विकास र प्रदेश मामिला तथा कानुन समितिको सभापति कांग्रेसले लिएको छ ।

यसले दीर्घकालीन रूपमा गण्डकी प्रदेशमा लोकतान्त्रिक चेक एन्ड ब्यालेन्सप्रति गम्भीर प्रश्न उठाएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।