पोखराबाट तामाका तार चोर्ने ४ जना पक्राउ


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०८२ मा प्रकाशित




पोखराबाट महँगा भाँडा र तामाका तारहरु चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तीन भारतीय र एक नेपाली नागरिक छन् । जसमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका-२ का ३१ वर्षीय श्यामकुमार तामाङ छन् ।

यो समूहले विभिन्न ठाउँबाट पटक पटक भाँडावर्तन र तामाका तारहरु चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए ।

अनुसन्धानका क्रममा चोरी गरिएका ती सामानहरु कवाडीमा बेच्ने गरेको खुलेपछि २३ जेठमा प्रहरीले मनोज कुमार सिंहले सञ्चालन गरेको कवाडी खानामा छापा मारेको थियो । सो क्रममा उनीहरुलाई पक्राउ परेका हुन् ।

उनीहरुको कारखानबाट प्रहरीले ८२ किलो तामाको तार, साढे २ किलो आल्मुनियम, पित्तलका धाराका टुटी ५१ थान (१६ किलो), पित्तलको सकेट ९७ वटा (१८ किलो), पित्तलको गेटबल १०५ वटा (८५ किलो), नक्कली गरगहना २१ किलो, तामाका कलश १० थान, चरेश कचौरा ३ थान, चरेश दियो बाल्ने पाला ३ थान, चरेश कलश १ थान, तामाको पानी पिउने फिल्टर १ थान र तामाको तार साढे १ किलो बरामद भएको छ ।

पक्राउ परेका चार जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।