जिप्रका कास्कीमा निर्मित बहुउद्धेशीय भवन हस्तान्तरण


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८२ मा प्रकाशित




जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवन उद्घाटन गरिएको छ । भवनको गण्डकी प्रदेश प्रमुख (डिआइजी) दिनेशकुमार आचार्यले उद्घाटन गरे ।

पोखरा महानगरपालिका तथा स्थानीय नागरिकसङ्ग सहयोग रकम संकलन गरी निर्माण गरिएको भवन उद्घाटन लगत्तै हस्तान्तरण गरियो । ३२ लाख ७४ हजार रुपैयाँमा निर्माण गरिएको सो भवनको पहिलो तल्ला प्रहरी परिचालन कक्ष तथा अर्को तल्ला बिबिध प्रयोजनका लागि प्रयोग गरिने भवन निर्माण समिती सम्योजक तथा पोखरा-४ का पुर्व अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए । उद्घाटन समारोहमा भवन निर्माण समितिका अध्यक्ष शंकरप्रसाद बास्तोला, नेपाल प्रहरी प्रधान कार्यालयका डिआइजी ओमबहादुर राना, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, श्री कृष्ण दल गणका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सामुदायिक प्रहरी सेवा केन्द्र, पत्रकार, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता लगायतको उपस्थिति थियो ।

कार्यक्रममा डिआइजी आचार्यले प्रहरी जनताको साथी भएको र जनताको साथी प्रहरी भएको बताए । उनले प्रहरीलाई प्रविधिमैत्री बनाउँदै सीसी क्यामेरा लगायत श्रोतसाधनको उपयोग गर्नुपर्ने, अनुसन्धान प्रक्रियालाई अझ प्रभावकारी बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जनताको सहयोगमा प्रहरी बलियो हुने बताए । भवन निर्माण समितिका कोषाध्यक्ष केशवप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की, विशिष्ट अतिथि ओमबहादुर रानालगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।