
पोखरा । देवीरमण-कृष्णकुमारी स्मृति प्रतिष्ठान, कास्कीको आयोजनामा आइतवार (आज) १११ औं देवीरमण जन्म जयन्ती तथा सम्मान कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा पोखरा-९ नयाँबजार निवासी राधादेवी बाँस्तोलालाई कृष्णकुमारी स्मृति महिला सेवा सम्मानबाट र पोखरा-२५ हेम्जा निवासी चतुरमान श्रेष्ठलाई देवीरमण स्मृति शैक्षिक सम्मानबाट सम्मानित गरिएको थियो ।
सामाजिक अभियन्ता बास्तोलाले विगत पाँच दशकभन्दा बढी समय कास्की जिल्लामा एक हजारभन्दा बढी महिलाहरुलाई सिपमूलक तालिम प्रदान गर्नुका साथै कुष्ठरोग र क्षयरोगबाट प्रभावित व्यक्तिहरुलाई सिपसम्बन्धी तालिम प्रदान गरी उनीहरुको पुनस्र्थापना र आर्थिक आत्मनिर्भरता स्थापित गराउन अतुलनीय योगदान पुर्याउनुभएको थियो।
शिक्षासेवी श्रेष्ठले वि.सं. २०१५ देखि २०५४ सालसम्म कास्कीको हेमजास्थित गौरीशंकर माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रुपमा काम गर्दै विद्यालयको भौतिक र शैक्षिक विकासमा दीर्घकालीन योगदान पुर्याउनुभएको सेवाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । सम्मानित दुवै व्यक्तित्वलाई सम्मान पत्र, दोसल्ला, माला र रु २० हजारको चेक प्रदान गरियो।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले देवीरमणले नेपाली समाज र शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदान अमूल्य रहेको बताउनुभयो। उहाँले समाजमा बास्तोला र श्रेष्ठ जस्ता प्रेरणादायी पात्रहरूको सम्मानले भावी पुस्तालाई कर्तव्यनिष्ठ र सेवामुखी बन्न थप उत्प्रेरणा दिने उल्लेख गर्नुभयो।
सम्मानित व्यक्तित्वद्वय राधादेवी बाँस्तोला र चतुरमान श्रेष्ठले स्व. देवीरमण गुरुको सान्निध्यताको स्मरण गर्दै सम्मानले आफूलाई अझ जिम्मेवार र क्रियाशील बनाउने प्रेरणा मिलेको बताए ।
कार्यक्रममा सुवेदी कल्याण प्रतिष्ठानका सल्लाहकार चक्रपाणि सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं देवीरमण शर्माका विद्यार्थी दिपेन्द्रबहादुर क्षेत्री र बरिष्ठ शिक्षासेवी जर्ज जोन सरले शुभकामना तथा बधाई मन्तब्य राख्दै प्रतिष्ठानले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे । उनीहरुले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
छनौट समितिका संयोजक प्रा. डा. कृष्ण केसीले देवीरमण शर्मा र कृष्णकुमारी शर्माको संक्षिप्त जीवनी प्रस्तुत गर्नुका साथै सम्मान कार्यक्रमको पृष्ठभूमि र छनौट प्रक्रियाबारे स्पष्ट पार्नुभयो । छनौट समितिका सदस्यहरुमा बिश्लेषक बिश्व सिग्देल, प्रा.डा. कृष्णप्रसाद पौडेल, प्रा. डा ज्ञानबहादुर कार्की, सह प्रा ज्योति भट्टचन, समाजसेवी टिका कार्की र अध्यक्ष/सचिब पदेन सदस्य छन् ।
प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मि दीपेन्द्र श्रेष्ठले संचालन, स्मृति प्रतिष्ठानका सचिव पशुपति सुबेदीले स्वागत मन्तब्य गरेका थिए ।
“सुवेदी कुलका गौरव देवीरमण शर्मा ‘शास्त्री’ : शिक्षा, धर्म र समाज सेवामा अमर योगदान “ :
कास्की जिल्लाको कास्कीकोट, रोहोटेपानीमा जन्मनु भएका देवीरमण शर्मा सुवेदी ‘शास्त्री’ पोखरा र पश्चिम नेपालको शैक्षिक, सामाजिक तथा धार्मिक चेतनामा अमिट छाप छोड्न सफल एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। सदाशिव सुवेदी वंशका शीर्ष पुरुषका रूपमा चिनिनु भएका देवीरमण शर्मा ‘शास्त्री’ सादा जीवन, उच्च विचार र कडा अनुशासनमा जीवन यापन गर्नुभएको थियो।
बाल्यकाल भारतको हिमाञ्चल प्रदेश, धर्मशालाको भाग्सुमा बिताउनु भएका उहाँले प्रारम्भिक शिक्षा चाँदमारी गाउँ नजिकको विद्यालयबाट सुरु गर्नुभयो। संस्कृतको गहिरो अध्ययन नगरोटाको संस्कृत गुरूकुलमा र उच्च शिक्षा जम्मूस्थित रघुनाथ संस्कृत कलेजबाट ‘मध्यमा’ र ‘शास्त्री’ सम्पन्न गर्नुभयो। सुबेदी कुलवंशमा शास्त्री पास गर्ने उहाँ प्रथम व्यक्ति हुनुहुन्थ्यो।
धार्मिक तथा शैक्षिक सेवाको सुरुवात उहाँले फर्स्ट/फर्स्ट गोर्खा राइफल्स पल्टन (धर्मशाला भाग्सु) मा गर्नु भएको थियो। त्यहाँ गोर्खाली र ब्रिटिश सेनाका अधिकृतहरूलाई अङ्ग्रेजी र नेपाली भाषा सिकाउनु हुने कार्यले उहाँको अध्यापन क्षमताको परिचय दिइसकेको थियो।
वि.सं. २००९ मा पोखरा फर्किएपछि शिक्षा क्षेत्रमा समर्पित हुनु भएका उहाँले वि.सं. २०१७ मा पृथ्वीनारायण कलेजको स्थापनामा सक्रिय योगदान पुर्याउनुका साथै सोही कलेजमा नेपाली विषयका प्रथम प्राध्यापक बन्नु भयो। उहाँको विशेष शिक्षणशैली, अनुशासन र कडाइले विद्यार्थीहरूमा असाधारण सुधार ल्याएको थियो। त्यतिबेला “देवीरमणसँग ट्युशन पढेपछि एसएलसी पास भइन्छ” भन्ने जनविश्वास नै स्थापित भएको थियो।
अमरसिंह हाई स्कूल (तत्कालीन सोल्जर्स बोर्ड हाई स्कूल), राष्ट्रिय माध्यमिक विद्यालय, मौजा रात्रि पाठशाला, विन्ध्येस्वरी रात्रि पाठशालाजस्ता विद्यालयहरूमा उहाँको शिक्षण र नेतृत्वले पोखराको शैक्षिक विकासमा अमूल्य योगदान पुर्यायो।
शिक्षा मात्र होइन, उहाँले धर्म, संस्कृति र जलवायु मापनमा समेत योगदान दिनुभएको थियो। अध्यात्म र समाजसेवामा सक्रिय रहँदै साधारण पदमा रहेर मातृभूमिको सेवा गर्न सकिन्छ भन्ने प्रेरणादायी जीवन उदाहरण प्रस्तुत गर्नुभयो।
कठोर अनुशासन, सत्यनिष्ठा, विद्यार्थीमैत्री व्यवहार र गहिरो धार्मिक चेतनाले उहाँलाई पोखराको शैक्षिक इतिहासमा अमर बनाएको छ। उहाँका सुपुत्र डा. अनिल सुवेदीद्वारा प्रकाशित ‘देवीरमण शर्मा ‘शास्त्री’ स्मृतिग्रन्थ’ मार्फत उहाँको जीवन र योगदानलाई विस्तृत रूपमा समेटिएको छ।
देवीरमण शर्मा ‘शास्त्री’ समाज, धर्म, शिक्षा र राष्ट्रसेवामा समर्पित एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसको सम्झना वर्तमान र भविष्यका पुस्ताहरूका लागि सधैं प्रेरणादायी र अनुकरणीय बन्नेछ। उहाँ सुवेदी कुलमा मात्र नभई सम्पूर्ण पश्चिम नेपाल र देशका लागि एक गर्विलो व्यक्तित्वका रूपमा स्मरणीय रहनुहुन्छ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।