
पोखरा, असार ९
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटपनि आफ्नै क्षेत्रमा खन्याएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कडा रोग लागेका गरीब तथा विपन्नहरुलाई वितरण गरिने आर्थिक सहयोग आफ्नै गृहजिल्लामा खन्याएकोमा विरोध भइरहँदा उनले बजेटपनि आफ्नै क्षेत्र गोरखा निर्वाचन क्षेत्र नम्बर–२ (क)मा केन्द्रीत गरेका हुन् । उनले क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल ईञ्जुरी, हेड ईञ्जुरी, कलेजो, सिकलसेल एनिमिया, अप्लाष्टिक एनिमिया, थालिसिमिया र मस्तिष्क आघात भएका गरीब तथा विपन्न विरामीहरुलाई वितरण गर्ने आर्थिक सहयोग मनाङ, मुस्ताङलाई उपेक्षा गरेर गृहजिल्लामा खन्याएका थिए । सोहि प्रवृत्ति उनले बजेटमापनि दोहो¥याएका छन् । यतिसम्म कि मुस्ताङको बजेट भन्दा मुख्यमन्त्री पाण्डेको एउटा योजनामा बढी बजेट विनियोजन गरिएको छ ।

मुख्यमन्त्री पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने एउटा सडक निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १९ करोड ८२ लाख विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले कार्यान्वयन गर्ने सो योजनाका लागि छुट्टिएको बजेट समग्र मुस्ताङका लागि विनियोजित बजेट भन्दा बढी हो । पूर्वाधार विकास कार्यालय मुस्ताङका लागि जम्मा १९ करोड ४१ लाख ६८ हजार रुपैयाँ बराबरका मात्रै योजना परेका छन् । त्यस्तै, मुस्ताङ मात्रै होईन, हिमाल पारिकै अर्को जिल्ला मनाङमापनि न्यून बजेट विनियोजन गरिएको छ । मनाङमा १८ योजनाका लागि २० करोड ३२ लाख रुपैयाँको मात्रै बजेट छुट्याइएको छ ।
गण्डकीको बजेटमा मुख्यमन्त्री पाण्डेको गृह जिल्ला गोरखामा मात्रै एक अर्ब ५९ करोड ७६ लाख ६ हजार रुपैयाँ विनियोजित भएको छ । सो बजेट गोरखाका विभिन्न १५४ वटायोजनाका लागि विनियोजन गरिएको हो । पूर्व मुख्यमन्त्री तथा सत्तारुढ दल नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीको गृह जिल्ला कास्कीमा एक अर्ब ८४ करोड २२ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन बजेटबाट कास्कीका विभिन्न १६९ योजना कार्यान्वयन हुने विनियोजित बजेटमा उल्लेख छ ।
गण्डकीको बजेटमा स्याङ्जा जिल्लाका लागि ९६ करोड आठ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन बजेटले त्यहाँका विभिन्न १०९ योजना कार्यान्वयन हुनेछ ।
त्यस्तै, अर्थमन्त्री डा. टकराज गुरुङको गृहजिल्ला लमजुङमा ८२ वटा योजनाका लागि ९० करोड ५४ लाख, तनहुँमा ९४ वटा योजनाका लागि ८६ करोड २५ लाख २४ हजार, बागलुङमा ९४ वटा योजनाका लागि ७८ करोड ६४ लाख, म्याग्दीमा विभिन्न ३२ वटा योजनाका लागि ६० करोड ८९ लाख १८ हजार र नवलपुरमा ७० योजनाका लागि ५८ करोड ९० लाख ४८ हजार र पर्वतमा ६३ वटा योजनाका लागि ५७ करोड २२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
शक्तिशाली नेता र मन्त्रीको गृह जिल्लामा गण्डकीको बजेट केन्द्रीत भएपछि विपक्षी दलहरु मात्रै होईन सत्तारुढ दलकै केहि सांसदहरु रुष्ट छन् । माओवादीले बजेटमा विभेद गरेको भन्दै प्रदेश सभा बैठक नै अबरुद्ध गरेको थियो । तर अर्थमन्त्री डा.टकराज गुरुङले सम्बोधन गर्ने प्रतिबद्दता जनाएपछि सदनको अवरोध हटेको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्ली सुवेदी, दीपेन्द्रबहादुर थापालगायतका सत्तारुढ दलका सांसदहरुले बजेटमाथिको छलफलमा भाग लिने क्रममा विभेदपूर्ण तरिकाले बजेट आएको आरोप लगाएका हुन् । बागलुङका प्रदेश सभा सदस्यहरु त झन् बजेटमाथिको छलफलमै सहभागी छैनन् । बागलुङलाई कम बजेट दिएकोमा उनीहरुको असन्तुष्टि छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।