लागु औषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी अभियान सम्पन्न, प्रतिवद्धता पत्रमा हस्ताक्षर


     एभरेस्ट आवाज    
     असार १२ गते २०८२ मा प्रकाशित




पोखरा, असार १२

“स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता” भन्ने नाराका साथ सप्ताहव्यापी रुपमा मनाइएको लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसको समापन कार्यक्रम आज सम्पन्न भएको छ। २०८२ साल असार ६ गतेदेखि १२ गतेसम्म विविध सचेतनामूलक कार्यक्रमसहित मनाइएको यस दिवसको अन्तिम दिन आज (बिहिबार) प्रभातफेरीसहित समापन गरिएको हो।

पोखरा महानगरपालिका वडा नं. १७ स्थित मुस्ताङ चोकबाट सुरु भई राष्ट्रबैंक चोक, शहिद चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीको प्राङ्गणसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सरकारी कार्यालय प्रमुखहरू, पोखरा महानगरपालिकाका वडा नं. ७, ९ र १७ का वडाध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरू, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश तथा कास्कीका पदाधिकारीहरू, शिक्षक, विद्यार्थी, नागरिक समाज, विभिन्न टोल विकास संस्था, आमासमूहका प्रतिनिधि लगायतको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रभातफेरीपछि सम्पन्न समापन समारोहमा मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यता र कास्कीका प्रमुख जिल्ला अधिकारी शर्माको अध्यक्षतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। समारोहमा “स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माणका लागि लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अभियानमा हामी सबै ऐक्यवद्ध छौं” भन्ने प्रतिवद्धता पत्रमा उपस्थित सबै सहभागीहरूले हस्ताक्षर गरेका थिए।

सप्ताहभर मनाइएका कार्यक्रमहरूमा सहकार्य र समन्वय गर्ने संस्थाहरू तथा व्यक्तिहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमलाई सफल पार्न सहयोग र सक्रिय सहभागिता जनाउने सबैप्रति आयोजक संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।