पोखरामा महिला जनप्रतिनिधिलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असार १३ गते २०८२ मा प्रकाशित




पोखरा, १२ असार।

पोखरा महानगरपालिकाका महिला जनप्रतिनिधिहरूलाई लक्षित गर्दै कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोग र वडा नं. १७ को आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो।

फिस्टेल ड्रीम पार्क, गगनगौडामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले निर्वाचित जनप्रतिनिधिहरूमाथि नागरिकको ठूलो आशा र अपेक्षा रहने बताउँदै, कानुनी जटिलताका कारण कतिपय अवस्थामा सेवा दिन नसकिएको बताइन्।

उनले भनिन्, “कानुनभन्दा बाहिरका मागहरू पूरा गर्न नसक्दा जनगुनासो बढ्छ, त्यसैले यस्ता कार्यक्रममार्फत प्रतिनिधिहरूलाई कानुनी पक्षमा सचेत बनाउनु आवश्यक छ।”

उप प्रमुख गुरुङले, “कानुनको अज्ञानता क्षम्य नहुने भएकाले सबै जनप्रतिनिधिले न्यूनतम कानुनी ज्ञान राख्न आवश्यक छ।” भनिन् ।

कार्यक्रममा वडा नं. १७ की अध्यक्ष राधिका शाही योगीले कानुनी अनभिज्ञता स्थानीय स्तरमा सेवा प्रवाहमा बाधक बन्न सक्ने भन्दै, जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

उनले “महिला जनप्रतिनिधिहरू पनि कोटा होइन, प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्न सक्ने हुनुपर्छ। कानुनी ज्ञानले त्यस्तो आत्मविश्वास बढाउने बताइन् ।

वडा अध्यक्ष शाहीले पूर्व प्रतिनिधि भएपछिसमेत सेवा भावमा निरन्तर रहने सोच विकास गर्न कानुनी सचेतना महत्वपूर्ण हुनेमा जोड दिइन् ।

कार्यक्रममा कानुनी सचेतना सम्बन्धी विषयमा अधिवक्ता भुवन पराजुलीले प्रशिक्षण दिएका थिए। साथै, महिला जनप्रतिनिधिको अवस्था, अवसर, चुनौती र भूमिकाको विषयमा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए।

कार्यक्रममा पोखरा महानगरपालिका अन्तर्गत रहेका ३३ वटै वडाका बर्तमान र निबर्तम्न महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।