पोखरा, १६ असार ।
पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित कुमुदिनी होम्समा कक्षा ९ र १० का विद्यार्थी तथा उनीहरूका अभिभावकको सहभागितामा एक प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। “अभिभावकको महत्व र विद्यार्थी भविष्यका नेतृत्वकर्ता हुन्” भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले जीवनमा सफलता प्राप्त गर्न विद्यार्थी, विद्यालय र अभिभावकबीचको त्रिपक्षीय समन्वय अपरिहार्य रहेको बताए।
उनले सफलता सजिलै प्राप्त नहुने र त्यसका लागि निरन्तर कर्म, आत्मशुद्धि र सकारात्मक सोच आवश्यक पर्ने बताए। उनले भने, “हामीले गर्ने कर्मले नै भविष्य निर्माण गर्छ। असल कर्मले चाहिने खुसी, शान्ति र समृद्धिको ढोका खोल्छ।” अधिकारीले खराब आनीबानी, अस्वस्थ जीवनशैली र नकारात्मक सोचले जीवनमा बेचैनी र असन्तुष्टि ल्याउने भन्दै सच्चा सफलता आत्मिक रूपान्तरणबाट सम्भव हुनेमा जोड दिए।
उनले अभिभावक, शिक्षक र विद्यार्थी तीनै तहमा सकारात्मक सोचको आवश्यकता रहेको उल्लेख गर्दै बालबालिकाको गल्तीलाई सुधार गर्न प्रेरणादायी र सकारात्मक शब्दको प्रयोग आवश्यक हुने बताए। “एक नराम्रो शब्दले जीवनको दिशा परिवर्तन गर्न सक्छ,” उनले भने, “गल्ती समाधानका लागि उत्प्रेरणा चाहिन्छ।” अधिकारीले आजको युग एआई (कृत्रिम बुद्धिमत्ता) को युग भएकोले विद्यार्थीहरूको सोच अझ फराकिलो भइसकेको र तिनीहरूलाई कम आँक्न नहुने धारणा राखे।
कुमुदिनी होम्सको शैक्षिक वातावरण, भौतिक पूर्वाधार, सांस्कृतिक झल्को, आधुनिक ल्याब, परम्परागत बस्तुहरुको संरक्षण तथा ४.० जीपीएसहितको एसईई नतिजाबाट आफू गहिरो प्रभावित भएको बताउँदै उनले विद्यालयले चाहेमा असम्भव केही हुँदैन भन्ने अनुभूति भएको बताए। उनले विद्यालयको प्रयास र प्रतिबद्धतालाई प्रशंसायोग्य बताए।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले साढे तीन दशकदेखि सञ्चालनमा रहेको कुमुदिनी होम्स सधैँ उत्कृष्टता हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। उनले पुल्चोक इन्जिनियरिङ क्याम्पस, आईटी, नर्सिङ र विदेशका प्रतिष्ठित कलेजमा स्कलरसिपमा अध्ययनरत पूर्वविद्यार्थीहरूको उदाहरण दिँदै कुमुदिनीले सधैं मेहनती, स्वावलम्बी र नेतृत्वदायी विद्यार्थी उत्पादन गर्दै आएको उल्लेख गरे। उनले भने, “हामी गिलास होइन, घैँटोभरि पानी ल्याउने विद्यार्थी उत्पादन गर्छौं, जसको प्रभाव परिवार र समाज दुवैमा पर्छ।”
अध्यक्ष अधिकारीले पोखराकै फिष्टेल नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समेत उत्प्रेरणात्मक सम्बोधन गर्दै आत्मशुद्धि, नैतिक मूल्य र आत्मविश्वासका माध्यमबाट जीवनमा सफलता प्राप्त गर्न सकिने सन्देश दिए।
कार्यक्रमले सहभागी अभिभावक, शिक्षक र विद्यार्थीहरूमा सकारात्मक सोच, निरन्तर मेहनत र मूल्य–आधारित शिक्षाको आवश्यकताबारे सशक्त सन्देश दिएको सहभागीहरूको धारणा रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







