पोखरा, असार १८
कास्कीमा घर असुरक्षित बन्दै गएको देखिएको छ । कास्कीमा भएका हिंसामध्ये घरेलु हिंसा सबैभन्दा धेरै देखिएको हो । जसले घर असुरक्षित बन्दै गएको देखिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पछिल्लो ६ महिनामा ११४ वटा मानव अधिकार उलंघन तथा ज्यादतीका घटना भएको जनाएको छ । यो अघिल्लो वर्षको यहि समय अवधिको भन्दा २१ वटा बढी हो ।
ईन्सेकद्वारा आज आयोजित अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा कास्कीमा घटेका हिंसामध्ये घर सबैभन्दा असुरक्षित बन्दै गएको तथ्याङ्क प्रस्तुत गरियो । इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले कास्कीमा पछिल्लो ६ महिनामा घटेको कुल हिंसाका घटनामध्ये घरेलु हिंसा ९२ वटा रहेको बताए । यो कुल हिंसाको ८० प्रतिशत हो । अघिल्लो यहि समय अवधिमा ५३ वटा मात्रै घरेलु हिंसाका घटना भएका थिए । जुन कुल हिंसाको करीब ५७ प्रतिशत मात्र हो । संयोजक खकुरेलले भने,‘घरेलु हिंसा यस वर्ष ह्वात्तै बढेको तथ्याङ्क छ । यसले घर नै सबैभन्दा बढी असुरक्षित बन्दै गएको देखिन्छ ।’
त्यसबाहेक बालअधिकार अन्तर्गत ९ वटा, बालिका बलात्कारका ७ वटा र बालबालिका कुटपिटका २ वटा घटना भएको संयोजक खकुरेलले बताए । अमानवीय व्यवहार तथा दुव्र्यवहारका २ वटा, कुटपिटका २ र हत्याका १ वटा घटना घटेको उनले तथ्याङ्क दिए । यसैगरी, जातिय विभेदका १ वटा, महिला बलात्कारका ७ वटा घटना घटेकोपनि खकुरेलले जानकारी दिए ।
इन्सेकले विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धीहरूमाथि आधारित रहेर वर्षभरि देशभरिका घटनाहरू संकलन गर्ने र विश्लेषणसहित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ प्रकाशन गर्दै आएको छ । आगामी वर्षको मानव अधिकार वर्ष पुस्तकका लागि घटना संकलन भइरहेको इन्सेक कास्की जिल्ला प्रतिनिधि सञ्जय रानाभाटले बताए । उनले भने,‘पछिल्लो समय नागरिक तथा राजनीतिक अधिकारमा केही सुधार देखिएपनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्थामा खासै प्रगति छैन ।’
इन्सेक गण्डकी प्रदेश संयोजक खकुरेलले शिक्षा, स्वास्थ्य, खाद्य, आवास, सुरक्षा, रोजगारी र विभेदविरुद्धको प्रत्याभूतिमा राज्य चुकिरहेको टिप्पणी गरे । जसका कारणले हिंसा बढिरहेको उनको भनाई छ । उनले भने, ‘छोरीको भ्रुण हत्या, बालश्रम, विद्यालयमा दिइने शारीरिक दण्ड, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अभाव, बालविवाह लगायत घटना अझै समाजमा लुकेर भइरहेका छन् । त्यसलाई न्यूनीकरण गर्न सबै जागरुक हुनुपर्छ ।’
कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उजुरी लिने निकायले उजुरी नलिँदा मानव अधिकारको उल्लंघन गर्ने क्रम बढेको बताईन् । ‘पीडितले न्याय नपाउँदा त्यो आफैंमा मानव अधिकार उल्लंघन हो । अपराधको सजाय मात्र नभई, पिडितले क्षतिपूर्ति पायो कि पाएन, त्यो पनि मूल्यांकन हुनुपर्छ,’ उनले भनिन् ।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले आर्थिक अपराधपछि साइबर अपराधका उजुरी धेरै आउने गरेको जानकारी दिए । उनले भने,‘मान्छे लोभी, पापी हुन खोज्दा आफैं ठगिएका घटना बढ्दै गइरहेका छन् । यसमा सचेत हुन जरुरी छ ।’ उनले कतिपय मुद्दामा पीडित होस्टाइल हुँदा न्याय नपाउने गरेको बताए ।
मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत टंक खनालले घटना न्यूनिकरणमा सबैको योगदान महत्वपूर्ण हुने बताए ।
दलीत महिला संघ गण्डकीकी अध्यक्ष सुमित्रा गायकले जातीय विभेदका घटनाहरू अझैपनि बाहिर ल्याउन कठिनाई भइरहेको बताईन् ।
राष्ट्रिय अपांग महासंघ गण्डकीका कृष्णप्रसाद अधिकारीले अपांग व्यक्तिका परिचयपत्रमै भेदभाव हुने स्थिति रहेको बताए । ‘परिचयपत्रमा अपांगता नखुलाई अधिकार सुनिश्चित गर्न सकिँदैन,’ उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







