अन्तर कलेज क्रिकेट लिग कपमा डब्लुआरसीको दोस्रो जित

- जेएमसी र पिएनसीले अंक बाँडे


     एभरेस्ट आवाज    
     असार १९ गते २०८२ मा प्रकाशित




पोखरा, असार १९

पोखरामा जारी अन्तर कलेज क्रिकेट लिग कप–२०८२ मा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी)ले दोस्रो जित निकालेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना तथा कंगारु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी प्रतियोगितामा उद्घाटन खेल जितेको डब्लुआरसीले विहीबार पोखरा विश्वविद्यालय (पियु)लाई पराजित गर्दै दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा डब्लुआरसीले गण्डकी विश्वविद्यालय (जियु)लाई ३९ रनले पराजित गर्दै सुखद शुरुवात गरेको थियो ।

दोस्रो दिन भने डब्लुआरसीले पियुलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो खेल जितेर महत्वपूर्ण ४ अंक बटुल्न सफल भएको छ । वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा पियुले पहिलो व्याटिङ गर्दै ८ विकेटको क्षेत्रीमा ६० रन बनाएको थियो । उसका लागि सुवास बास्तोलाले १८ र राहुल राजदासले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । डब्लुआरसीका रौनक कुमार झा र विपीन भट्टराईले समान २/२ विकेट लिए ।

६१ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको डब्लुआरसीले ७.१ ओभरमा ३ विकेटको क्षेतीमा लक्ष्य भेट्टाएको हो । डब्लुआरसीका लागि रौनककुमार झाले २४ र उपेन्द्रराज जोशीले १५ रनको योगदान दिए । सो खेलमा डब्लुआरसीका रौनककुमार झा प्लेयर अफ दी म्याच घोषित भए ।

विहीबारको दोस्रो खेलमा जनप्रिय बहुमुखी क्याम्पस (जेएमसी) र पृथ्वीनारायण क्याम्पस (पिएनसी)ले अंक बाँढेका छन् । टस जितेर जेएमसीले बलिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको पिएनसीले ११.३ ओभरमा ३ विकेटको क्षेतीमा १०३ रन बनाएर खेलिरहँदा वर्षा भएको थियो । त्यसपछि निरन्तर वर्षा भइरहेपछि खेल अबरुद्दहुँदा दुबैले समान १/१ अंक बाँढेका हुन् । यसअघि पहिलो दिनको खेलमा पोखरा विश्वविद्यालय (पियु)लाई २९ रनले पराजित गरेको पिएनसीले खेल अबरुद्द भएपछि दोस्रो खेल जितेर ४ अंक जोड्ने अवसर गुमायो भने जेएमसीलेपनि पहिलो खेल जितेर २ अंक जोड्ने अवसर गुमायो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेलमा पोखरा विश्वविद्यालय र जनप्रिय क्याम्पस तथा दोस्रो खेलमा पृथ्वीनारायण क्याम्पस र गण्डकी विश्वविद्यालय आमनेसामने हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।

असार २४ गतेसम्म जारी रहने प्रतियोगिताको बिजेताले नगद ३० हजारसहित ट्रफी तथा उपबिजेताले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा प्लेयर अफ दी म्याच घोषणा गरी ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।