
पोखरा, असार २०
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य नागरिकको प्रश्नको कठघरामा उभिएका छन् । विकास, समृद्धि र सुशासनको नारा दिएर मेयरमा निर्वाचित उनलाई नागरिकले महानगरपालिकाको शुक्रबार आयोजित ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागीहरुले प्रश्नको कठघरामा उभ्याएका हुन् ।
विकासको नारा दिएको मेयरले महानगरको आफ्नै कार्यालय भवन निर्माण गर्न नसकेर लाचारी देखाएकोदेखि सुगम क्षेत्रमा खाल्डाखुल्डीयुक्त सडक बनाएको भन्दै व्यङ्ग्य गर्नेसम्मका प्रश्न उठे । मानबहादुर जिसी मेयर हुँदादेखि नै महानगरको कार्यालय भवन बनाउने प्रक्रिया अघि बढेपनि मेयर आचार्यको कार्यकालको तीन वर्ष बित्दासमेत बन्ने छाँटकाँट नदेखिएपछि सार्वजनिक सुनुवाईमा सो प्रश्न उठेको हो ।
कार्यक्रममा बोल्दै पोखरा–१८ का स्थानिय राजेश थापाले खाल्डाखुल्डी देख्नै नपर्ने प्रतिबद्दता जनाएपनि त्यो पूरा नभएकोप्रति कटाक्ष गरे । पोखरा–१८, २३ र २४ लाई जोड्ने लेकसाईड–पामे सडक नबनेकोप्रति व्यङ्ग्यात्मक शैलिमा उनले भने,‘खाल्डाखुल्डीयुक्त सडक निर्माण गरेकोमा धन्यवाद’, भन्ने अभियान नै चलायौं तैपनि सुनिएन र अहिलेपनि खाल्डाखुल्डी पुरिएका छैनन्, मेयर साब त्यो बाटो कहिले बन्छ ? ।’
थापाले पोखरामा हरियो बसको धुवाँ आतंक रहेको तर सरोकारवालाले त्यसलाई रोक्ने प्रयास नगरेको टिप्पणी गरे । त्यतिमात्र होईन, पोखरा नो हर्न जोन रहेपनि कार्यान्वयन नभएकोतर्फ प्रश्न गर्दै उनले भने,‘नो हर्न जोनमा हर्न आतङ् कहिले बन्द हुन्छ ? ।’
पोखरा–१६ जोगिमरेका गोपाल गिरीले खोला, नदी र तालको मापदण्ड फरक÷फरक गर्नुको कारण सोधे । भने,‘मापदण्ड फरक÷फरक राखिएको छ, आधार केहि छ कि त्यत्तिकै हो ? ।’
नागरिक अभियन्ता तथा नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले फेवाताल जलकुम्भी झार र फोहोरको टापुले कुरुप बन्दापनि महानगर के हेरेर बसेको छ भन्ने प्रश्न गरे । सञ्चारकर्मी यदूनाथ बञ्जाराले बसपार्क बनाउन ओगटिएको जग्गा सुकुम्बासीको नाममा हुकुम्बासीले ओगट्दापनि महानगरले बसपार्क बनाउनेतर्फ ध्यान नदिएको आरोप लगाए ।

प्रश्नको खातमा जवाफ दिन उभिएका मेयर आचार्यले केहि भइसकेका दृष्टान्त दिए भने केहि हुँदै गरेका, केहि आगामी अघि सारिने योजना बेलिबिस्तार लगाए । पोखरा बनाउन आफू १८ घण्टा लागिरहेको भन्दै उनले भने,‘मेसिनले झैं काम गरिरहेको छु । रिजल्ट देखिन्छ । केहि समय कुर्नुहोस् ।’ उनले पोखराको विकास निर्माणका लागि विभिन्न परियोजनामार्फत ३३ अर्ब भित्रिएर काम भइरहेको उल्लेख गरे ।
खाल्डाखुल्डी नपुरिएको नागरिकको गुनासोको जवाफ दिदै मेयर आचार्यले भने,‘महानगरबासीले खाल्डाखुल्डी देख्नै नपर्नेगरी अभियान चलाईनेछ, हामी त्यसको तयारीमा छौं ।’ उनले बसपार्क निर्माणकोसमेत तयारी भइरहेको उल्लेख गरे । बसपार्कको जग्गा सुकुम्बासीको नाममा हुकुम्बासीले कब्जा गरेकोप्रति टिप्पणी गर्दै उनले भने,‘हामी त्यसकोपनि एक एक छानविन गर्छौं । साँच्चिकै सुकुम्बासीलाई अन्त जग्गा उपलब्ध गराएर हुकुम्बासीलाई हटाउँछौं र पुरानै क्षेत्रफलमा बसपार्क बनाउँछौं ।’
मेयर आचार्यले कालोमुस्लो फाल्दै हिंड्ने सवारी बिस्थापित गर्ने योजनामा महानगर रहेको सुनाए । अल्पकालीन रुपमा कम्तिमा सर्भिसिङ गरेर मात्र सवारी चल्ने ज्ञारेन्टी गरिनेछ,उनले थपे,‘त्यस्ता गाडीमा हरियो स्टिकर टाँसेर चलाउने बनाउँछौं । दिर्घकालीन रुपमा भने ईलेक्ट्रिक भेहिकल (ईभी) चलाउने नीति लिन्छौं ।’ मेयर आचार्यले फेवातालमा देखिएको जलकुम्भी झार नियन्त्रण र प्लाष्टिजन्य फोहोरको टापु हटाउने अभियानपनि चाँडै सञ्चालन गर्ने बताए । फेवातालको शीरतिर हिउँदमै जलकुम्भी झार हटायो भने त्यो बढ्न पाउँदैन र ताल ढाकिदैन,उनले भने,‘जलकुम्भी बढ्न नदिन सानै हुँदा त्यो हटाउने अभियान तालको सिरान क्षेत्रमै सञ्चालन गरिनेछ ।’ उनले ताल सफा बनाउने अभियान लक्ष्मी हाउससँग मिलेर चलाउन लागिएको बताए । जैविक रासायनिक वस्तुको प्रयोग गरेर ताल सफा गर्ने तयारीमा छौं,उनले अगाडि थपे,‘त्यसको पाइलोटिङ लेखनाथको कुनै एउटा सानो तालबाट शुरु गरिनेछ । त्यो सफल भएपछि फेवातालमा गर्छौं ।’
मेयर आचार्यले महानगरको क्षेत्राधिकार भित्र नपर्ने विषयका कारणपनि महानगर र आफूले आलोचना खेप्नुपरेको गुनासो गरे । सडक, विद्युत, खानेपानीलगायतका क्षेत्र संघ र प्रदेशको भएपनि महानगर र आफूले आलोचना खेप्नुपरेको भन्दै उनले भने,‘जुन सडकमा एक चपरी माटोसमेत महानगरले हाल्न पाउँदैन, त्यो सडक बिग्रिदा महानगरले बनाएन भनेर आलोचना हुँदा दुःख लाग्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।