बक्स पोखराको आयोजनामा पोखरामा ‘खुल्ला फुटसल प्रतियोगिता’ आयोजना हुँदै


     एभरेस्ट आवाज    
     असार २२ गते २०८२ मा प्रकाशित




पोखरा, असार २२

पोखरामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बक्स पोखराको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवन (कभर्ड हल)मा हुने प्रतियोगिता असार २९ गतेसम्म हुने आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

एक्सपोजर दिएर प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करीब ३० टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खुल्ला फुटसल प्रतियोगिता भएकाले देशभरका जुनसुकै टिमलेपनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । टिममा राष्ट्रिय खेलाडीहरु आवश्यक्ता अनुसार सहभागी गराउन पाउने आयोजक बक्स पोखराका अध्यक्ष प्रदीप गुरुङले जानकारी दिए ।

प्रतियोगिता नकआउटका आधारमा हुने जनाइएको छ । खेललाई जीवनशैली बनाएर खेलकुदको विकाससँगै स्वस्थता प्रदान गर्नपनि प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ । संघका अध्यक्ष गुरुङले भने,‘तिव्र गतिको हुने भएकाले फुटसल रोमाञ्चक हुनुका साथै आत्मअनुशासन, सहकार्य र नेतृत्व विकासमा सघाउ पु¥याउँछ भन्ने हाम्रो विश्वास हो ।’

प्रतियोगिताको बिजेताले नगद १ लाख ७० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपबिजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बक्स पोखराका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक चुमन गुरुङले जानकारी दिए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजारसहित ट्रफी र प्रमाण पत्र तथा उच्च गोलकर्ता र उदीयमान खेलाडीलाई नगद ६÷६ हजासहित ट्रफी र प्रमाण प्रदान गरिने उनले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने बक्स पोखराको एक महिने सदस्यता प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करीब ७ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट १० लाख आम्दानी गरेर ३ लाख बचत गर्ने लक्ष्य आयोजकको छ । ‘बचत रकम क्लवले गर्ने खेलकुदका विभिन्न गतिविधिमा खर्च गरिनेछ’–संयोजक गुरुङले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।